१५ बैशाख २०८१, शनिबार

कालानिमक धान संरक्षणमा जुटे किसान

प्रकाशित मिति :  12 July, 2022 2:36 pm


सिद्धार्थनगर। तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन्। मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा चन्द्र पाठक, अर्जुन कुर्मीले अभियान नै चलाएपछि यसको महत्व बुझेर लुम्बिनीका किसानले उक्त धान लगाउन थालेका हुन् ।

लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान नै रोपाइँ गर्दै आएको बताउनुभयो । स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसान राम उजागिर पाण्डेले बताए।

राज्यले लोपोन्मुख धानको संरक्षण गरी पर्यटनसँग जोडेर काम गर्नुपर्ने पाठकले बताउनुभयो । परम्परागत भएकाले अहिलेका युवा पुस्ताले कालानिमक धानलाई संरक्षण गर्ने दायित्व रहेको युवा किसान मुरलीकुमार कहारले बताए । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ । शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गर्ने गरेका थिए । बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनता काठको हलो लिएर कालानिमक धान रोपाइँ गर्ने गर्दथे । आजकल यो धान भने दुईचार किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रुपमा लिने गरिन्छ ।

— रासस



प्रतिक्रिया दिनुहोस !