सुनिलस्मृति गाउँपालिकाले जंकफुड,प्लाष्टिक माला र खादालाई पूर्ण रुपमा बन्देज गर्ने
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले जंकफुड र प्लाष्टिक मला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को पहिलो गाउँ कार्यापालिका बैठकले गाउँपालिका तथा मातहतका कार्यालयहरूमा प्रयोग हुँदै आएका जंकफुड र प्लाष्टिक माला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले स्थानीय स्तरमा उत्पादित बस्तुलाई प्रोत्साहन गर्न जंकफुड र प्लाष्टिकको माला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले गाउँपालिकाभित्रका जग्गा बर्गीकरण गर्न कार्यदल निर्माण गरेर कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ ।
गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुको काम छिटो,छरितो र सहज ढंगबाट सम्पन्न गर्नका लागि तत्काल नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय पनि गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
निर्णयमा ‘जेष्ठ नागरिक, एकल महिला, तथा बालबालिकाहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता छिटो,छरितो र सहज बनाउन सबै वडाबाट वितरण गर्न ग्लोबल आइएमई बैंक सुलिचौर शाखासँगको समन्वय गरि वडा सचिव तथा वडाका पदाधिकारीहरुको रोहवरमा सबै वडाका टोल,बस्तीहरुबाट वितरण गर्ने’ उल्लेख छ ।
गाउँपालिकाले चालु आ.व.मा सञ्चालन हुने स्वीकृत वार्षिक योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्नका लागि खरिद योजना भाद्र मसान्सम्म गर्ने र कार्यान्वयन प्रकृया असोज पहिलो साताबाट अगाडि बढाउने निर्णय गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।








