१३ बैशाख २०८१, बिहिबार

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

प्रकाशित मिति :  20 September, 2022 1:29 pm


काठमाडौं । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहेका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले सोमबार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायतले पुस्तक लोकार्पण गरेका थिए।

एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ।

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका मिति घोषणा भएका बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो। कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी ९सामाजिक० लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको बताए।

‘पृथ्वीनारायण शाहको दिव्योपदेश र विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रुपमा अङ्गीकार गर्नुको विकल्प छैन, दुवै नेताले देशलाई शिरमा राखेरमात्र बाँकी निर्णय लिए’, पुस्तकमा लेखक मिश्रले भने।

आफू व्यक्तिगत रुपमा धर्मका विषयमा निरपेक्ष रहे पनि धर्मान्तरणका घटना बढिरहेकाले हिन्दू–बौद्ध राष्ट्रको मुद्दा आवश्यक रहेको उनको भनाइ थियो। धर्म निरपेक्षताकै आडमा धादिङको रुवीभ्यालीका ७० प्रतिशत तामाङ समुदायलाई धर्मान्तरण गरिएको उनले सुनाए।

पूर्व उपप्रधानमन्त्री एवं नेकपा ९माले० का महासचिव मैनालीले मिश्रको पुस्तकले प्रजातान्त्रिक आन्दोलनमा नयाँ विचार दिएको बताए। लेखकका अनुभूति पोखिएको पुस्तकले मार्ग परिवर्तनको प्रस्ताव गरेको उनले बताए।

‘विसं २००७, २०४६ र २०६३ का परिवर्तन प्रजातान्त्रिकमात्र नभई अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप पनि हो, यो कुरालाई एक दुई नेताले माने पनि दलले संस्थागत रुपमा मानेका छैनन्, तथ्य र वस्तुपरक विश्लेषण भएन, देशमुखी समाधानका लागि मुख्य राजनीतिक शक्ति एक हुनुपर्छ’, नेता मैनालीले भने।

कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पारेका थिए। पुस्तकको मूल्य रु ४५० तोकिएको छ। रासस



प्रतिक्रिया दिनुहोस !