२ पुस २०८२, बुधबार

तिहारका लागि १० हजार असर्फी र २० हजार चाँदीका सिक्का छापियाे

प्रकाशित मिति :  18 October, 2022 2:35 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर १० हजार वटा असर्फी र २० हजार चाँदीका सिक्का छापेको छ ।

टक्सार महाशाखाले तिहार लक्षित असर्फी र चाँदीका सिक्का छापेको हो । भूकम्पछि काठमाडौं बबरमहलमा सारिएको टक्सार महाशाखाले यो वर्षदेखि नियमित असर्फी छाप्न सुरु गरेको छ ।

पोहोर पुरानै बाँकी रहेका असर्फी बिक्री गरे पनि यसपटक भने बिग्रएका मेसिन तयार गरेर असर्फी छाप्न सुरु गरेको हो । महाशाखा निर्देशक विनोद राज आचार्यले भने,“हामीले टक्सारका सबै प्रविधि जडान गरेपछि यस वर्षदेखि असर्फी छाप्न सुरु गरेका छौं । यस वर्षका लागि १० हजार वटा असर्फी सिक्का छापेका छौं ।”

महाशाखाले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी छापेको छ । निर्देशक आचार्यले भने,“बिगतमा पुर्‍याउनै गाह्रो हुन्थ्यो यस पटक प्रयाप्त छ, पुग्छ होला ।” महाशाखा २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुननिर्माणका क्रममा सुनधाराबाट विस्थापनमा परेको थियो ।

विस्थापन पछि काठमाडौं बबरमहलमा रहेको औषधि व्यवस्था विभागको जग्गामा महाशाखा राखिएको छ । टक्सारका बिग्रिएका मेसिन मर्मत गरेपछि यस वर्षका लागि असर्फी छापिएको हो । निर्देशक आचार्यका अनुसार अब चलन चल्तिका सिक्का समेत छाप्न सकिने छ ।

तिहारसको समयमा धन्तेरसको अवसरमा सुन,सुन चाँदी किन्दा शुभ हुन्छ भन्ने मान्यता । धन्तेरस कार्तिक कृष्ण त्रयोदशी तिथिमा पर्छ । यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । लक्ष्मीपुजाको २ दिन अघि वा काग तिहारको दिनमा धन्तेरस पर्छ । धन्तेरसमा चढाउनका लागि सुनको असर्फी किन्ने प्रचलन हुन्छ । शुद्द सु्न भएका कारण पनि टक्सार महाशाखाको असर्फी किन्ने प्रचलन हुन्छ ।

महाशाखाले सर्वसाधारणका लागि असर्फी लक्षित गरेपनि सुन व्यवसायीले नै खरिद गर्ने गरेको आशंकामा बजार भाउ भन्दा केही महंगोमा बिक्री गर्ने गरिएको निर्देशक आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !