ओझेलमा धार्मिक स्थल छायाँक्षेत्र, जहाँ महादेवले पहरामा त्रिशुल खाेपेर पानी निकालेका थिए
स्याङ्जा । स्याङ्जा जिल्लाको प्रमुख धार्मिक स्थल छायाँ क्षेत्र मन्दिर प्रचारप्रसारकाे अभावमा ओझेलमा परेकाे छ। भीरकोट नगरपालिका वडा नम्बर ४ मा पर्ने छायाँक्षेत्र धार्मिक, एतिहासिक तथा सांस्कृतिक सम्पदासमेत हाे ।
गण्डकी प्रदेशकाे सिद्धार्थ राजर्माग मुल द्धारमा जोडिएको महादेवको शक्ति पिठका रुपमा रहेकाे याे क्षेत्र हिन्दू धर्मावलम्विका लागि प्रमुख गन्तव्यमध्येमा पर्दछ । स्वस्थानी व्रत कथामा सतिदेवीकाे मृत देहलाई बोकेर पृथ्वी परिक्रममा गर्ने क्रममा महादेवले सतिदेवीको विभिन्र अंग पतन हुँदै गएको र छायाँक्षेत्र मन्दिरमा बाँकी अंग पतन भएकाे उल्लेख छ ।
महादेव थकित हुँदा त्रिशुल प्रहारले जल उत्पन्र गरेर तिर्खा मेटेको र उक्त जल त्यस स्थानमा अझैसम्म छङ्गछङ्ग बगेकाले उक्त स्थानको नाम छाङ्गछाङ्गदी रहेको किंवदन्ती छ । प्रचार प्रसार हुन नसक्दा छायाँक्षेत्र मन्दिर पुग्ने दर्शनार्थीकाे संख्या घटेकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए ।
बजेट अभावका कारण मन्दिर सुधारका काम तथा यसकाे प्रचार प्रसार हुन नसकेकाे उनकाे भनाइ छ । “व्यवस्थापन सिमितिले छायाक्षेत्र मन्दिरमा १०८ जलधारा १०८ शिवलिङ्ग बनाउने योजना बनाएको छ । केही समय अगाडी हामीले १५ फिट अग्लो त्रिशुल त्यहाँ राखेका छौं,” उनले भने ।
मुख्य मन्दिरको छेउमा रहेको शिवालय मन्दिर व्यक्तिको नाममा रहेको र त्यसको लागि सम्बन्धित धनीलाई मन्दिरको नाममा हस्तान्तरण गर्न भनिए पनि हालसम्म हुन सकेकाे छैन । मन्दिरमा संरचना बनाउन र पार्किङ व्यवस्थापनको लागि सहज हुने श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०७९ \०८० को बजेटमा भीरकोट नगरपालिकाले मन्दिरलाई बजेट नछुटाएको गुनासो समितिकाे छ। ”गत आर्थिक वर्ष पूर्वाधार मन्त्रालयबाट बजेट छुटाएर जलधार र शिवलिङ्ग राख्न ठाउँको संरचना निर्माण गरेका छौं। अहिले पनि संघसँग मन्दिर व्यवस्थापनको लागि बजेटको माग गरेका छौं,” उनले थपे ।
मन्दिर परिसरमा हाल ५० जनासम्म अट्न सक्ने क्षमताको धर्मशाला, २१० जना क्षमताको सभाहल, शिवजीको मुर्ति तथा अष्टचिरञ्जीवीको स्थापनासँगै मन्दिरसम्म पुग्न र फर्किनका लागि छुट्टाछुट्टै सिँढी निर्माण गरिएको छ ।
लुम्बिनी सञ्चारसँग कुरा गर्दै भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले नगरपालिकाले छायाँक्षेत्र मन्दिरलाई पालिको गहनाको रुपमा हेरेको बताए । उनले भने, “अहिले नयाँ समिति गठन भएको तीन महिना भएको छ । हामीले छायाक्षेत्र मन्दिर मात्र नभनेर छायाँक्षेत्र धामको रुपमा चिनाउने पहल गरेका छौं ।’’
नगरपालिका र सम्बन्धित निकाय यस धार्मिक स्थलको प्रचार प्रसार गर्न चुकेको उनकाे स्वीकाराेक्ति छ । ”केही महिना पछि सुनौलीदेखि पोखरासम्म छायाँक्षेत्रको होडिन बोर्डहरु राख्ने कार्य सुरु हुनेछ र भारतका भक्तजनहरुलाई केन्द्रित गरेर त्यहाँको प्रचार गरिनेछ,” केसीले भने ।









