१६ चैत्र २०८०, शुक्रबार

रोल्पा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिबिच किचलो,विवादपछि कार्यपालिका बैठक स्थगित

प्रकाशित मिति :  8 November, 2022 10:51 am


रोल्पा । विवाद भएपछि रोल्पा रुन्टीगढीको कार्यापालिका बैठक स्थगित भएको छ ।

कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि बैठक स्थगित भएको हो । निर्णय गर्दा गाउँपालिका अध्यक्षले मनोमानी गरेको,वडामा निर्वाचन शिक्षाको कर्मचारी राख्दा गाउँपालिकाले जानकारी नगराएको र नियमित प्रधानाध्यापकहरूको बैठकबारे खबर नगरेको, प्रवक्ता नियुक्तिमा अध्यक्षले मनोमानी गरेको भन्दै केही कार्यपालिका सदस्यले प्रश्न उठाएपछि साेमबारकाे बैठक स्थगित भएको हो ।

वडा नं. ६ का अध्यक्ष एवं कार्यपालिका सदस्य घनबहादुर घर्तीमगरले गाउँपालिका अध्यक्षले केही कुरामा मनोमानी गरेकाले आफूहरूले प्रश्न उठाएको बताए ।

उनले भने,“ठूलो विषय त होइन तर सहकार्य र सर्वसम्मतिबाट चलौं भन्ने हाम्रो धारणा हो तर उहाँले एकल निर्णय गर्ने र प्रश्न उठाउँदा ऐन कानुन अनुसार नै चलेको छु भनेपछि हामीले बैठक बहिष्कार गरेका हौं ।”

गाउँपालिकाले कात्तिक १९ गते ९ जना निर्वाचन शिक्षा कर्मचारी राखेको थियो भने आइतबार प्रधानाध्यापकको नियमित बैठक राखेको थियो । एमालेका तर्फबाट निर्वाचित पक्षले गाउँपालिकाको प्रवक्ता पाउनुपर्ने माग गरेको छ । गाउँपालिका अध्यक्ष जनक पुनले वडा नम्बर ९ का वडाअध्यक्षलाई प्रवक्तामा नियुक्त गरेका छन् ।

अध्यक्ष पुनले आफू सहकार्यका लागि सधैं तयार रहेको र नियम कानुन अनुसार नै चलेको बताए । उनले भने,“म नीति र विधि अनुसार चल्ने हो, म त्योभन्दा बाहिर गएको छैन तर साथीहरूले अध्यक्षको कतिपय अधिकारमा पनि प्रश्न उठानुहुन्छ ।”

गाउँपालिकाको प्रवक्ता नियुक्ति अध्यक्षको स्वविवेकीय अधिकार भएकाले अरूले दाबी गर्न नमिल्ने अध्यक्ष पुनको भनाई छ ।
कार्यपालिका सदस्यका मागप्रति आफू सधैं सकारात्मक रहेको उनले बताए ।

उनले भने,“ केही साथीहरू राजनीतिक पूर्वग्रहका हिसाबले सोच्नुहुन्छ तर मैले त्यसो नगरौं भनेको छु, यी सबै हल गर्न सकिने विषय हुन् ।”



प्रतिक्रिया दिनुहोस !