१२ श्रावण २०८१, शनिबार

प्यूठानमा कोरोना भाइरस नमूना सङ्कलन अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  3 April, 2020 9:58 am


प्यूठान, २१ चैत ।

प्रदेश नं-५, जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कोरोना भाइरसको नमूना सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।

कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशाला प्राविधिकको सहभागिता थियो । कार्यक्रममा प्यूठानका आठ, रोल्पाका तीन, दाङ र रुकुमपूर्वका एक-एक गरी १३ जनाको सहभागिता थियो ।
कोरोनाको नमूना सङ्कलनका लागि जोखिमरहित रहेर प्रयोगशालामा पठाउन र आ–आफ्नो कार्यस्थल तथा वरिपरि सुरक्षित कसरी रहने भन्ने विषयमा तालिम केन्द्रित थियो ।

कोरोना भाइरसका शङ्कास्पद सङ्क्रमितको जिल्लास्तरबाट नै स्वाब नमूना सङ्कलन कसरी गर्ने, सङ्कलन गरिएको नमूना कसरी सुरक्षित भण्डारण गर्ने विषय तालिममा सिकाइएको छ ।

उचित मापदण्डका साथ कसरी ढुवानी गरी तोकिएको प्रयोगशालामा जाँच गर्न सहजरूपमा पठाउने भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
प्रदेश नं ५ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल बाँकेमा प्रयोगशाला बनाइने प्रदेशको सामाजिक विकास मन्त्रालयको योजना छ ।



प्रतिक्रिया दिनुहोस !