१३ बैशाख २०८१, बिहिबार

रोल्पाका तीन गाउँपालिकाकाे साझा मुद्दा : बडाचाैर एयरपाेर्ट,अन्तरसडक सञ्जाल र चिस्यान केन्द्र

प्रकाशित मिति :  26 February, 2023 3:30 pm


काठमाडौँ । रोल्पाको पूर्वी क्षेत्रका तीन गाउँपालिकाले ठुला आयोजनालाई साझा मुद्दा बनाएका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका,सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले ठुलो रकम खर्च हुने र गाउँपालिकाको बजेटले धान्न नसक्ने विकासका कार्यक्रमलाई साझा मुद्दा बनार संघीय सरकारलाई आग्रह गरेका हुन् ।

फागुनको दोस्रो हप्ता काठमाडौँ आएर तीन गाउँपालिकाका अध्यक्षले लुङ्ग्री गाउँपालिकामा रहेको बडाचौर एयरपोर्टकाे पुन :सञ्चालन, गाउँपालिकास्तरीय अन्तरसडक सञ्जाल र सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा चिस्यान केन्द्रको माग गरेका छन् ।

उनीहरूले सम्बन्धित मन्त्रालय पुगेर योजना माग गरेका हुन् । बडाचौर एअरपोर्ट पुनःसञ्जालनका लागि तत्काल काम अगाडि बढाउन, गाउँपालिकालाई एकआपसमा जोड्ने गरी अन्तरसडक सञ्जाललाई कालोपत्रे गर्न र तीन गाउँपालिकालाई पायक पर्ने सुलिचौर बजारमा चिस्यान केन्द्रको माग गरेका छन् ।

सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले रोल्पाको पूर्वी क्षेत्रमा रहेका तीन गाउँपालिकाको साझा मुद्दा रहेको र यसमा सम्बन्धित निकायमा पुगेर बजेट माग गरिएको बताए ।

लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले गाउँपालिकाभित्रका योजना आ-आफ्ना भए पनि ठुला बजेटका योजनामा सामुहिक धारणा बनाएको बताए ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले गाउँपालिकाहरूले संयुक्त आवाज उठाउँदा विकासका योजना प्रभावकारी बन्ने सक्ने बताए ।

०३६ सालदेखि सञ्चालनमा ल्याइएको बडाचौर एअरपोर्ट २०४८ सालपछि उडान स्थगित भएको थियो । पटक पटक एअरपोर्ट पुन : सञ्चालनको माग हुँदै आए पनि काम हुन सकेको छैन । अहिले एअरपोर्ट जिर्ण बन्दै गएको छ ।

सुलिचौरमा चिस्यान केन्द्र बन्दा तीनवटै गाउँपालिकाको उत्पादनलाई सहज हुने अध्यक्ष बुढाथोकीको भनाइ थियो । उनले भने,“ विषय अरू पनि छन् तर अहिले केही मुख्य मुद्दालाई साझा बनाएका छाैँ । संयुक्त रूपमा आवाज उठाएका छौं, पक्कै पनि यसबारे सुनुवाई होला ।”



प्रतिक्रिया दिनुहोस !