१५ चैत्र २०८०, बिहिबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा बन्याे ‘सुनिलस्मृति पार्क’

प्रकाशित मिति :  5 March, 2023 9:06 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा सुनिलस्मृति पार्क सञ्चालनमा आएको छ ।

निर्माण पुरा भएपछि सहीद सप्ताहको अवसर पारेर लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले आज पार्कको उद्घाटन गरेका हुन् ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुलमा २ रोपनीमा फैलिएको पार्क जनयुद्धका क्रममा सहीद भएका किमबहादुर थापा ‘सुनिल’को स्मृतिमा बनाइएको हो ।

मुलुक संघीयतामा नजाँदै तत्कालीन रोल्पा जिल्ला विकास समितिले बजेट विनियोजन गरेर पार्क निर्माण सुरु भएको थियो ।

तत्कालीन जिविसले विनियोजन गरेको २४ लाख ५० हजार रुपैयाँले जमिन सम्याउने र पार्कका लागि स्थलको आधारभूत काम गरेको थियो ।

स्थानीय तह बनिसकेपछि सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षसम्म २६ लाख रुपैयाँ बजेट विनियोजन गरेर पार्क निर्माणलाई पूर्णता दिएको हो ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जनयुद्धका क्रममा सहीद भएका सुनिलको योगदानलाई चिरस्थायी राख्न पार्क निर्माण गरिएको बताए । उनले पार्कलाई थप विकास गर्दै लैजाने बताए ।

पार्कमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरेर सुनिलको पूर्णकदको शालिक राखिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिए ।

उनले अहिले पार्क उद्घाटन भएको र यसलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्दै लिएर जाने बताए । उनले भने, “अहिले पार्क उद्घाटन भयो, पछि यसलाई पिकनिक स्पटका साथै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्दै लैजाने योजना छ ।”

२०६२ मङ्सिर १४ गते रोल्पाको मनिमारेमा तत्कालीन शाही सेनाको आक्रमणमा सुनिल सहीद भएका थिए । गाउँपालिकाको नाम पनि उनकै नाममा सुनिलस्मृति गाउँपालिका राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !