१५ चैत्र २०८०, बिहिबार

न्यायिक समिति सम्मेलन गर्दै काठमाडौँ महानगर

प्रकाशित मिति :  23 March, 2023 5:56 pm


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको महानगरले जनाएकाे छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानूनी प्रवन्ध र उपयोगमा समान बुझाई विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताइन् । उनले न्यायिक समितिको राष्ट्रिय सम्मेलन देशभरका न्यायिक समितिले गरिरहेको काम कर्तव्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा धेरै सफलता,भोगेका समस्या र चुनौति सम्बन्धी आदान प्रदान गर्ने मुख्य उद्देश्य रहेको बताएकी छन् ।

सम्मेलनमा दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौँ घोषणापत्र जारी समेत गर्ने डंगोलले जानकारी दिइन् ।

सम्मेलनमा अहिलेसम्म देशभरका ४५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागि हुने निश्चित भएको छ । सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि,मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !