११ बैशाख २०८१, मंगलबार

नेपाल टेलिकमको कोरोना भाइरस सम्बन्धि सर्वेक्षण, पहिलो चरण सुदुरपश्चिम प्रदेशमा सुरु

प्रकाशित मिति :  15 April, 2020 7:50 am


काठमाण्डौं, ३ बैशाख।

नेपाल टेलिकमले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमसी)सँगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको टेलिकमले जनाएको छ ।

पहिलो चरणमा सुदूरपश्चिम क्षेत्रमा सर्वोक्षण कार्यान्वयन गरिने र क्रमशः प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिने टेलिकमको भनाई छ ।

सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस मार्फत जानकारी गराउने छ ।

एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले USSD मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् ।

सर्वेक्षण देवनागरीक लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हो वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ ।

सर्वेक्षणबाट प्राप्त तथ्यांक सीसीएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सीसीएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पुराउने सक्ने टेलिकमको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !