८ जेष्ठ २०८१, मंगलबार

कोरोना नियन्त्रणमा दाङकाे तयारी; ३३८ शय्याको क्वारेनटाइन, १६१ आइसोलेसन वार्ड

प्रकाशित मिति :  15 April, 2020 2:18 pm


दाङ, ३ वैशाख। 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् ।

प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ । बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ । यससँगै जिल्लाका सबै स्वास्थ्य संस्थामा १६१ शय्याको आइसोलेसन वार्ड छन् ।

प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा जिल्लाका मात्रै नभएर बाहिरबाट आउने बिरामीलाई पनि राखेर उपचार गरिने छ । त्यस्तै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेशन वार्ड छ । लमही अस्पतालमा पनि तीन शय्याको आइसोलेशन वार्ड तयार गरएको छ ।

दाङमा कोरोना संक्रमित तथा आइसोलेशनमा राख्नुपर्ने अवस्थाका बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डीस्थित कोरोना विशेष अस्पलताको आइसोलेशन वार्डमा उपचारको व्यवस्था गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध रहेको कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा सर्वेश शर्माले बताए ।

अहिले कोरोना विशेष अस्पतालमा ७० थान पिपिई रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ का फोकल पर्सन तथा कोरोना अस्पतालका सूचना प्रमुख कमल चन्दले जानकारी दिए । यहाँस्थित आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताल भवनमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आवश्यकता अनुसार पिपिइ रहेको कायममुकायम रजिष्ट्रार डा कैलाश देवले बताए । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा भने सीमित पिपिई हुँदा समस्या हुने गरेको छ । इलाका स्वास्थ चौकी हेकुलीका इञ्चार्ज टेकबहादुर खत्रीका अनुसार अहिले स्वास्थ्यचौकीमा सीमित पिपिई उपलब्ध रहेकाले सबै जनशक्ति प्रयोग गर्न नसकिएको अवस्था छ ।

कोरोना विशेष अस्पतालमा आइसियु सेवा

कोरोना विशेष अस्पतालमा सघन उपचार सेवा शुरु भएको छ । अस्पतालका मेसु डा शर्माका अनुसार राप्ती प्रादेशिक अस्पतालमा तीन चिकित्सकसहित ४५ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । उनले अस्पतालमा चौबीसै घण्टा दुई चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीको निगरानी गर्ने गरेको बताएन् ।

तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजालले आफूहरु सरकारसंँग सहकार्य गरेर जस्तो अवस्थामा पनि सेवा प्रदान तयार रहेको बताइन ।

३३८ शय्याको क्वारेनटाइन

दाङका दश स्थानीय तहमा चैतको शुरुदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य खाडी मुलुकबाट भित्रिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्वराज आचार्यले जानकारी दिए ।

यहाँका सबै पालिकामा भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेनटाइन केन्द्र निर्माण गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस !