३ जेष्ठ २०८१, बिहिबार

उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे

प्रकाशित मिति :  15 April, 2020 3:39 pm


काठमाडौं, ३ बैशाख ।

उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् ।

उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताए ।

उहाँका अनुसार पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन् ।

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् ।

‘उपत्यकामा सङ्क्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमूना परीक्षण गराइरहेका छन्’, उनले भने, “विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’

अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए ।

पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो सङ्क्रमण देखिएको थियो ।

त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

मङ्गलबार सङ्क्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको टेकु अस्पतलाको आइसोलेशनमा उपचार भइरहेको छ ।

अहिले नेपालमा १६ जनामा सङ्क्रमण देखिएको छ । कैलालीमा चार, कञ्चनपुरमा एक, वागलुङ्मा दुई, काठमाडौँमा पाँच, पर्सामा तीन र रौतहटमा एक जना सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उपत्यकामा नमूना परीक्षणको दायरा बढाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !