११ बैशाख २०८१, मंगलबार

बगर खेतीमा शतप्रतिशत अनुदान

प्रकाशित मिति :  6 June, 2023 2:44 pm


कैलाली । कैलालीको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ ।

जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।

गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो ।

बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।

उनले भने,“यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढीप्रभावित क्षेत्र हो ।

गत वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो । उनीहरुको एकधुर पनि जमिन छैन । मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन । पूरै एरिया नै तटबन्ध गर्नुपर्ने हुन्छ ।”

गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् ।

गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ ।

नदी किनारका अधिकांश स्थानहरु बगर खेतीका कारण हरियो देखिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !