६ जेष्ठ २०८१, आइतबार

लेखकले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला

प्रकाशित मिति :  13 June, 2023 5:24 pm


काठमाडाैँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । 

मंगलबार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताएका हुन् ।

उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई  ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताए । लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरस्कार दिन नहुने उनले बताए । उनले अब सरकारलाई लेखकहरूले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए । उनले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताए ।

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ ।

गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ । 



प्रतिक्रिया दिनुहोस !