२४ बैशाख २०८१, सोमबार

विद्यालय मर्जर हुँदा स्कुल बसको आवश्यकता बढ्यो : शिक्षामन्त्री राई

प्रकाशित मिति :  16 July, 2023 12:21 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपालमा विद्यालय मर्जर हुँदै जाँदा विद्यालयलाई स्कुल बसको आवश्यकता बढ्दै गएको बताएका छन् ।

आइतबार भारतीय दुतावासमा आयोजित नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप हस्तान्तरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिला म्यापिङ गरेर विद्यालयहरु नबनाइएको र अहिले म्यापिङ गरेर मर्जरमा लैजाने प्रक्रिया शुरु गरेसँगै विद्यार्थीहरुका लागि विद्यालयसम्मको दूरी बढेकाले विद्यालय बसको माग बढ्दै गएको बताए ।

उनले विद्यार्थीहरुलाई सहजै सुलभ शिक्षा प्रदान गर्नका लागि विद्यालय बसको आवश्यकता रहेको पनि स्वीकार गरे । उनले नेपाल–भारत सम्बन्धलाई अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गरे ।

उनले भने , ‘हाम्रो आवश्कतालाई महशुस गरेर मित्र राष्ट्र भारतबाट जो सहयोग प्राप्त भएको छ, यो स्मरणीय रहनेछ । चाबी प्राप्त गर्नुहुने मित्रलाई यो सहयोगको सदुपयोग गर्न आग्रह गर्दछु । यसले नेपाल–भारत सम्बन्धलाई अझै सुमधुर बनाओस् । विद्यालयलाई यातायातको बाटोका सुविधा बढेपछि विद्यालयहरुलाई बसको आवश्यकता बढेको छ, माग पनि बढेको छ । हाम्रा विद्यालयहरु म्यापिङ नगरी खोलियो, तिनीहरुलाई अहिले म्यापिङ गरेर मर्जरमा लैजाने प्रक्रिया शुरु गरेका छौँ । मर्जरमा जाँदा दूरी बढेको छ । विद्यालयलाई जसकारण यातायातको साधन बसको आवश्यकता बढेर गएको छ ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले विद्यालयमा यातायातको साधन आवश्यकता रहेको देखेर नै भारतले बस र एम्बुलेन्स सहयोग गरेको बताए । उनले नेपाल शिक्षित हुँदा भारत र भारत शिक्षित हुँदा नेपाललाई फाइदा हुने भएकाले दुवै देश मिलेर अघि बढ्नुपर्ने बताए ।

उनले भारत सरकार नेपालका हरेक जिल्लामा कम्तिमा एउटा एउटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराउने चाहनाअनुसार काम गरिरहेको बताउनु भयो ।

उनले भने , ‘अहिले स्कुल बसको मागलाई देखेर नै भारत सरकारले सहयोग गरेको हो । नेपालको विकास हुनुमा भारतलाई पनि फाइदा छ, नेपाल शिक्षित हुँदा भारतलाई पनि फाइदा छ । भारत विकास हुँदा नेपाललाई पनि फाइदा हुन्छ । हामी दुवै देश मिलेर अघि बढ्न जरुरी छ । त्यसैले पनि यो कार्यक्रमहरु विगतदेखि नै गर्दै आइरहेका छौँ । हामीले सहयोग गरेका स्कुल बस र एम्बुलेन्सले धेरै सहयोग पुगेको हामीले देखेका छौँ । आगामी दिनमा पनि यसरी ने थप सहयोग गर्नेछौँ । हामी नेपालको हरेक जिल्लामा एउटा एउटा स्कुल बस र एम्बुलेन्स पुगोस् भन्ने कोशिस गर्नेछौँ ।’

भारत सकारले आज नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत ३४ वटा एम्बुलेन्स र ५० वटा बस उपहार स्वरुप हस्तान्तरण गरेको हो ।



प्रतिक्रिया दिनुहोस !