१६ बैशाख २०८१, आइतबार

तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्न माग

प्रकाशित मिति :  17 October, 2023 5:37 pm


काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्टले आफूहरुले सरकारसमक्ष पेश गरेको सुझाव बमोजिम निजामती सेवा विधेयक ल्याउनुपर्ने बताए । संघीय निजामती सेवा विधेयक सम्बन्धी अवधारणा प्रस्तुत गर्दै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्ने गरी विधेयक आउनुपर्ने बताए ।

भट्टले आठ वर्ष बितिसक्दा पनि प्रशासनिक संघीयताको कार्यान्वयन हुन नसक्नु दुखद् पक्ष रहेको बताए । उनले सेवा प्रवेश खरिदार, चौथो र अधिकृत स्तर, सातौ तहमा मात्र गर्नुपर्ने बताए । उनले आफूहरुले प्रस्तुत गरेको अवधारणा पत्रलाई सरकारले बेवास्ता गरे आन्दोलनमा जान बाध्य हुने बताए ।

संगठनका महासचिव डिलाराम खनालले स्थानीय तहका कर्मचारीको प्रदेश अन्तर्गतको आवधिक सरुवा पूर्वानुमानयोग्य एवं चक्रीय प्रणालीको आधारमा सम्बन्धित मुख्यमन्त्री र मन्त्रीपरिषद्को कार्यालयले गर्नुपर्ने बताए । उनले प्रदेश प्रमुख सचिवको पद संघीय सेवाको पद हुनुपर्ने बताए ।

संगठनले प्रदेश वा स्थानीय तहको एक तह माथिको पदमा बढुवा पाएका कर्मचारीहरु समेत संघमा बढुवा प्रक्रियामा सहभागी हुन बाधा नपुग्ने सुनिश्चितता गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !