१२ बैशाख २०८१, बुधबार

पाल्पा– बुटवल सिद्धार्थ राजमार्ग र तानसेन– तम्घास राजमार्गका काममा तिव्रता

प्रकाशित मिति :  4 May, 2020 3:00 pm


पाल्पा, २२ वैशाख ।

बन्दाबन्दीेका समयमा पनि पाल्पा– बुटवल सिद्धार्थ राजमार्ग र तानसेन– तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको कटान भइरहेको छ ।

उक्त सडकखण्डको चिडियाखोलादेखि झुम्सासम्मको नाली मर्मत तथा निर्माण पनि भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार दोभानखोला, कचलखोला र तिनाउखोलाको पुल निर्माण निर्बाध भइरहेको छ । ‘लकडाउनका समयमा बाहिरका मजदूरहरु आफ्नै घर गएपछि काम नरोकियोस् भनेर स्थानीयस्तरका मजदूरबाट काम भइरहेको छ, निर्माण सामग्री बुटवल प्रशासन कार्यालयसँग समन्वय गरेर ल्याइएको छ”, डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।
लकडाउन अवधिमा मात्रै सो खण्डको कालीमाटी क्षेत्रमा चारभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भइसकेको छ । जिल्लाका करीब एक दर्जन योजना तत्काल सञ्चालन गर्ने तयारीमा रहेको डिभिजन प्रमुख अधिकारीको भनाइ छ ।

तानसेन– तम्घास सडकखण्डअन्तर्गत तानसेनदेखि भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साँघुरा सडक तथा घुम्ती कटान गर्ने, विभिन्न स्थानमा पर्खाल लगाउने, नाली काट्नेलगायत काम भइरहेका छन् । तानसेनको ढुङ्गाखानीदेखि भैरवस्थानसम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । यहाँ दैनिक छ देखि सात बजेसम्म डोजर स्काभेटरको प्रयोग गरी काम धमाधम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !