१२ श्रावण २०८१, शनिबार

‘प्रतिफल पाउने गरी कृषि क्षेत्रमा लगानी गर्न आवश्यक’

प्रकाशित मिति :  12 May, 2020 3:45 pm


काठमाण्डौं, ३० वैशाख । 

सांसद तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले प्रतिफल पाउने गरी कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

सङ्घीय संसद्, अर्थ समितिको छलफलमा आफ्ना धारणा राख्दै समिति सदस्य तथा आमन्त्रिण बैंकिङ् क्षेत्रका प्रतिनिधिले अहिलेको अवस्थालाई महामारीका रुपमा नभई अवसरका रुपमा लिनुपर्ने जोड दिएका छन् ।

छलफलमा सहभागी नेपाल बैंकर्स सङ्घका अध्यक्ष एवं सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बहुमत प्राप्त सरकार भएकाले अर्थतन्त्र बलियो बनाउने अवसर भएको बताए। स्थानीय तहसम्म विभिन्न बैंक स्थापना भएकाले अहिलेको अवस्थामा काम गर्न अहिले सजिलो हुने उनको धारणा थियो । उनले भने,‘महामारी समस्यामात्र होइन देशलाई आत्मनिर्भर तथा अर्थतन्त्र बलियो बनाउने अवसर हो ।’
अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र रहेको दाहालको भनाई थियो । उनले सडक निर्माणमा सिमेन्टको प्रयोग गर्न सुझाव दिए । उनले भने,‘यसले सडक बलियो पनि हुन्छ, खर्च पनि घट्छ ।’

नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष एवं नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकिङ क्षेत्रसितको सर्वसाधारणको सम्बन्ध टुट्न दिन नहुने बताए । यसका लागि सरकारको सहयोगको खाँचो रहेको उनको धारणा थियो । उनले भने,‘महामारीका बेला पनि बैंकिङ क्षेत्र मजबुत छ भन्ने सेवाग्राहीलाई विश्वास दिलाउन सक्नुपर्छ ।’

चौध लाख ऋणीलाई मात्रै सरकारले राहत दिन नहुनेमा शाहको जोड थियो । सबैको अवस्था हेरी राहतका लागि तह निर्धारण गर्न उनले सुझाव दिए । कृषिमा लगानी गर्न ऋणमात्रै दिएर नपुग्ने र ऋण लिनेले उत्पादन गरे नगरेको अवस्था पत्ता लगाउनुपर्ने उनले उल्लेख गरे । ‘उत्पादन खपत भए÷नभएको अवस्थाको ख्याल गरी लगानी गर्नुपर्छ’, शाहले भने, ‘मल, बीउ र उपकरणलगायतमा सहयोग गर्नुपर्छ ।’

पूर्व अर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डेले बैंकप्रतिको उपभोक्ताको विश्वास घट्न दिन नहुने र यसका लागि सरकारले भूमिका खेल्नुपर्ने बताए । ऋण लिने व्यवसायीले लगानी कुन कुन क्षेत्रमा गरेका छन् भन्ने जानकारी सरकारले राख्नुपर्ने उनको भनाई थियो ।

‘उनीहरुले रोजगारी सिर्जना गरे-नगरेको पत्ता लगाउनुपर्छ, ऋण लिएर काठमाडौँमा मात्र लगानी गरेको र बाहिर लगानी गर्न नसकेको पाइएको छ’, उनले भने ।

काठमाडौँ बाहिर लगानी गर्ने सर्तमा ऋण उपलब्ध गराउन उनले सुझाव दिए । अहिलेको अवस्थामा विदेशबाट फर्केका युवालाई कृषि उत्पादनतर्फ आकर्षित गर्नुपर्ने पाण्डेको भनाइ थियो । ‘विदेशबाट फर्केकालाई उनीहरुको सीपअनुसारको काममा आकर्षित गरी उत्पादनमा जोड दिने कार्यक्रमको आवश्यकता छ’, उनले भने ।

छलफलमा सांसदहरु जुलीकुमारी महतो, मेटमणि चौधरी, पदम गिरी, जयकुमार राई, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँक्री, हेमकुमार राई, तुलसी थापालगायतले आ–आफ्नो धारणा राखेका थिए। अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले सबैको रायसुझाव अगामी आवमा समेटिने बताए । समितिले प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने उनले उल्लेख गरे ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले कोरोना महामारीका कारण अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा अर्थतन्त्र बलियो बनाउन विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको धारणा बुझ्न छलफल आयोजना गरिएको बताए । बुधबार ११ बजे अर्थशास्त्रीहरु तथा अर्थविज्ञहरुसित छलफल गरिने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !