१२ श्रावण २०८१, शनिबार

बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा

प्रकाशित मिति :  14 May, 2024 12:52 pm


काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ ।

मंगलवार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको बताए ।

उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए । बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरुरी रहेको बताए ।

उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भएपनि यस्ता संरचना विगार्नु हुँदैन । हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस !