१२ श्रावण २०८१, शनिबार

गाँजा खेती खुला गर्ने कानून किसान केन्द्रित बनाउन विज्ञ र सांसदहरुको माग

प्रकाशित मिति :  8 June, 2024 12:09 pm


काठमाडाैँ । गाँजालाई व्यवसायीक खेतीका लागि खुला गर्ने कानून बनाउँदा किसान किन्द्रत बनाउनुपर्ने विज्ञ र सांसदहरूले बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने ’ विषय सम्बन्धी छलफलमा बोल्दै विज्ञ र सांसदहरूले यस्तो बताएका हुन् । छलफलमा बोल्दै विज्ञ र सांसदहरूले गाँजा उत्पादनका लागि खुला गर्दा कुनै एक कम्पनी वा संस्थातगत अनुमति दिने भन्दा पनि किसान केन्द्रित कानून र नियमावलीहरु बन्न आवश्यक रहेको बताए ।

उनीहरूले किसानको आर्थिक रुपमा जीवनस्तर माथि उठाउन र आर्यआर्जनको लागि भएपनि किसान केन्द्रित ऐन कानूनहरू बनाउन आवश्यक रहेको बताए । सरकारले गाँजा खेती खुला गर्दा कुनै एउटा व्यवसायीक फर्मलाई दिन नहुने बताउँदै त्यसले किसानहरुलाई भन्दा पनि व्यवसायीक लाभ अरूले लिने उनीहरूको भनाई थियो ।

काठमाडौँ विश्वविद्यालयका प्रा।डा।पन्नाकाजी महर्जनले सरकारले गाँजालाई वैधानिकता दिने ऐन बनाउँदा किसान केन्द्रित बनाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको व्यवसायीक खेतीको लागि किसानहरुलाई तालिमको व्यवस्था समेत दिने गरी कानून र नियमावलीहरु बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले विदेशी कम्पनी नेपालमा आएर गाँजा खेतीको लागि जग्गा दिए बाँकी सबै काम आफैँ गर्नेगरी कानून बनाउन नहुने बताए । उनले कम्पनीले जग्गा भाडामा लिएर गाँजा उत्पादन देखि त्यसबाट उत्पादन हुने प्रोडक्ट उत्पादन गर्दा राज्यलाई राजश्व लगायत आर्थिक आम्दानी भएपनि किसानलाई नछुने बताए ।

उनले कानूनमा नै निश्चित मापदण्ड बनाएर किसानलाई नै खेती गर्न दिनेगरी कानूनी प्रावधान गर्नुपर्ने उल्लेख गरे । उनले गाँजा खेती खुला गर्दा मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताए । उनले अध्ययन र अनुसन्धान अघि गाँजालाई औषधिको रुपमा तत्काल खुला गर्न नहुने बताए ।

त्यस्तै समितिमा बोल्दै सांसद योगेन्द्र मण्डलले गाँजा खेती वैधानिक किसान,उद्योग,देशको अर्थतन्त्रको हित हुने बताए । उनले सुर्ती खेतीलाई पनि प्राथमिकता साथ वैधानिकता दिन आवश्यकता रहेको बताए । उनले सुर्ती खेतीको लागि पनि नेपालमा सम्भावनाको बारेमा पनि अनुसन्धान आवश्यक रहेको बताए ।

सांसद मानवीर राईले किसानले खेती बादरले नष्ट नग¥यो भनेर क्षतिपूर्ति नमाग्ने खेती गाँजा भएको बताए । उनले हावाहुरी र गाईवस्तुले समेत नखाने खेती गाँजा नै भएको बताए । उनले सरकारले कानूनी रुपमा वैधानिक दिँदा किसानलाई मात्रै मापदण्ड बनाएर दिनुपर्ने बताए ।

उनले एकदेखि दुई रोपनीमा गाँजा खेती गर्न वडा,गाउँपालिकामा दर्ता गरेर सम्बन्धित प्रहरीलाई समेत थाहा हुनेगरी कानूनी व्यवस्था गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस !