राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि हुने

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ ।
आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र १७ गते बेस्ट वेस्टन प्लस होटलमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरू तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ । राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबिच कतिपय मुद्दाहरूमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गरे ।
उनले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताए । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गरे । उनले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गरे ।