१२ चैत्र २०८१, बुधबार

नेलटाको २९औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, अंग्रेजी भाषा शिक्षण प्रविधिमा छलफल

प्रकाशित मिति :  2 March, 2025 10:52 am


ललितपुर । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेलटा) को २९औं अन्तर्राष्ट्रिय सम्मेलन समापन भएको छ। हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा आयोजित तीन दिने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग, शिक्षक सशक्तीकरण, लेखन तथा पठन सीप सुधार, र शिक्षणमा मानवीय सम्बन्धको सन्तुलन जस्ता विषयमा वृहत छलफल गरिएको नेलटा अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार नेपालसहित विभिन्न देशका विज्ञहरूले अनुसन्धानमा आधारित नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्, जसलाई शिक्षा नीतिमा सुधार गर्न शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिनेछ। साथै, आगामी नेलटा सम्मेलनलाई अझ प्रभावकारी र सान्दर्भिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्मेलनमा प्रमुख वक्ताका रूपमा नीनाज इचापोरियाले ‘एआईको युगमा अंग्रेजी भाषाको भविष्य’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए । उनले सिकाइका लक्ष्य निर्धारण गर्दै एआईको विवेकशील प्रयोग आवश्यक रहेको बताए । साथै, एआईको प्रयोग गर्दा पूर्वाग्रह, गलत डेटा, र समावेशीकरणका चुनौतीहरूमाथि ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी, दोस्रो मुख्य वक्ता प्रा. डा. तिर्थराज खनियाँले ‘के एआई अंग्रेजी शिक्षकको विकल्प हुन सक्छ’? भन्ने विषयमा प्रविधिको विवेकशील प्रयोग आवश्यक रहेको बताउँदै शिक्षणमा मानवीय दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनका अनुसार प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थीहरूलाई निर्भरशिल बनाउन सक्ने खतरा रहन्छ।

सम्मेलनमा अमेरिका, भारत, नेपाललगायत विभिन्न देशका विशेषज्ञहरूले अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउन विविध विचार प्रस्तुत गरे। प्रमुख वक्ताहरूमध्ये रोजर एफ। कोहेन (अमेरिका), चन्द्र कान्त भूसाल (नेपाल), जुम्बरलाल पटिल (भारत), र टी। कुमारी खरबामोन (भारत) ले शिक्षण विधि सुधारका विषयमा आफ्ना धारणा राखे।

अन्य विशेष सत्रहरूमा कनिता रिद्वाना, लशाना नान्दकुमारन, अंखजाया बातसूरी, तथा सह(प्राध्यापक मार्कोभा एलेनाले विद्यार्थीहरूको लेखनशैली र पठन सीप सुधार्न विभिन्न रणनीति अपनाउनु पर्ने सुझाव दिए। उनीहरूका अनुसार एआईले शिक्षण सहज बनाउने भए तापनि शिक्षकहरूको भूमिका अझै महत्त्वपूर्ण रहनेछ।

नेलटा प्रादेशिक गोष्ठीमा सातै प्रदेशका प्रमुख प्रतिनिधि तथा शिक्षकहरूले अंग्रेजी भाषा शिक्षणमा नवीनतम प्रयास, लेखन सीप रूपान्तरण, सामाजिक न्यायका लागि उत्तरदायी शिक्षण पद्धति, र शिक्षक सशक्तीकरणका विषयमा गहन छलफल गरे। साथै, अन्य २३ समकालीन सत्रहरूमा नेपाली तथा विदेशी प्रतिनिधिहरूले अंग्रेजी भाषा शिक्षणका विविध पक्षहरूबारे विचार आदान-प्रदान गरे।

यस वर्षको नेलटा सम्मेलनमा २२ देशका करिब ८०० जना सहभागीले २०० भन्दा बढी अनुसन्धानमूलक प्रस्तुतिहरू दिएका थिए। नेलटाले आयोजना गरेको यस विशाल सम्मेलनले शिक्षकहरूलाई नवीन शिक्षण विधि तथा प्रविधिबारे जानकार गराउने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस !