कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अघि बढ्योः मन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि तथा पशुपंक्षी जन्य उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको बताएका छन्।
शुक्रवार राष्ट्रिय सभाको सदस्याहरुको प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा गरिएको यान्त्रिकिकरणले उत्पादन बढेको बताए।
उनले गत आवको भन्दा चालु आवमा धानको उत्पादन २ लाख ३१ मेट्रिक टनले बढेको जनाउँदै तरकारी तथा फलफूलको उत्पादनमा स्वदेशी उत्पादनको हिस्सा उल्लेख्य वृद्धि भएको बताए।
उनले भने, “कृषि क्षेत्रको व्यावसायिककरण र यान्त्रिकिकरणसँग सम्बन्धित कार्यक्रमहरुबाट विभिन्न आद्यान्न, तरकारी, फलफूललगायतका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१ ÷८२ मा धानको उत्पादन गत आवको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर कूल ५९ लाख ५५ हजार मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ९८ मेट्रिक टन प्रति हेक्टरबाट बढेर ४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।”
मन्त्री अधिकारीले चालु आवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषियोग्य जमिन एकीकरण गरी सामुहिक खेती, करार खेती तथा सहकारी खेतीको प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए।
उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने बताए । लगानी, पूर्वाधार विकास र बजार व्यवस्थापन लगायतका विषयमा सम्बन्धित निकाय तथा विदेशी संस्थामार्फत अध्ययन भइरहेको अधिकारीको भनाइ छ ।
अधिकारीले भने, “आर्थिक वर्ष २०८०÷८१ को बजेटमा बुँदा नम्बर ८९ मा स्वदेशमै रासायिनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी लगानीमा लगानी बोर्डमार्फत काम अघि बढाइने छ भनी उल्लेख थियो । तथापी ८१÷८२ को बजेटमा यो समबन्धी विषय उल्लेख भएको छैन । साथै चालु आर्थिक वर्ष ०८१÷८२ मा समेत मल कारखान स्थापनाका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कुनै बजेट विनियोजन भएको छैन ।”
नेपाल सरकारको कार्य विभाजनको नियामावली २०७४ को अनुसार उद्योग स्थापना सम्बन्धी विषय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयसँग सम्बन्धित रहेको छ । रासायनिक कल कारखाना धेरै ठुलो लगानी पूर्वाधार विकास र बजार व्यवस्थापनलगायतका विषयसँग सम्बन्धित भएकाले सो सम्बन्धमा अर्थ मन्त्रालय, लगानी बोर्ड तथा विदेशी संस्थाहरुमार्फत विभिन्न चरणमा अध्ययन भएको छ ।
मन्त्री अधिकारीले विक्रम संवत २०७२ मा जाइकाले ७२ अर्ब लगानी गरी वार्षिक ७ लाख मेट्रिक टन मल उत्पादन हुने भन्ने पूर्व सम्भाव्यता अध्ययन गरिएको बताए ।
चालु आर्थिक वर्षमा ग्लोबल ग्रिन ग्रोथ इस्न्टिच्युट जिजिजी र काठमाडौं विश्वाविद्यालयले ग्रिन युरियाको कारखाना स्थापना गर्न सकिने सम्बन्धमा अध्ययन भएको उनको भनाइ छ ।
–न्युज एजेन्सी नेपाल