१० चैत्र २०८१, सोमबार

आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणको अभियान

प्रकाशित मिति :  8 March, 2025 8:06 am


काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइँदैछ ।

यस अवसरमा सरकार, महिला संगठन, तथा विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गर्दै महिलाका अधिकार, लैङ्गिक समानता, र सशक्तिकरणको अभियानलाई अझ प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ भने विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनहरूले पनि विविध कार्यक्रम तय गरेका छन् ।

महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार, आत्मनिर्भरता अभिवृद्धि, र हिंसाजन्य क्रियाकलापको अन्त्य गर्न दिवसले प्रेरणा दिनेछ ।

नेपालको संविधानले कुनै पनि प्रकारका लैङ्गिक भेदभाव, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ। महिलाका हकलाई मौलिक हकका रूपमा स्थापित गरिएको छ भने समानुपातिक समावेशी सिद्धान्तअनुसार राजनीति, प्रशासन, र नीति निर्माणमा महिलाको उल्लेखनीय उपस्थिति देखिएको छ।

हाल संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ प्रतिशत, र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। निजामती सेवामा पनि २८ प्रतिशत महिला कर्मचारी संलग्न छन्, जसले महिलाको निर्णय प्रक्रियामा बढ्दो उपस्थितिलाई दर्शाउँछ ।

तर, समाजमा अझै पनि बालिका र किशोरीमाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू चुनौतीका रूपमा कायम छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, र निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न अझै मेहनत आवश्यक छ।

महिला दिवसको ऐतिहासिक पृष्ठभूमि
सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउने, उचित पारिश्रमिक पाउने, र मतदान अधिकार सुनिश्चित गर्ने मागसहित प्रदर्शन गरेका थिए। यही आन्दोलनबाट महिला अधिकारको विषय विश्वव्यापी बहसमा आयो। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घ को आधिकारिक मान्यतासँगै अन्तर्राष्ट्रिय महिला दिवसलाई संस्थागत रूपमा मनाउन थालिएको हो।

विगतको संघर्षलाई सम्मान गर्दै र भविष्यका योजना तय गर्दै, अन्तर्राष्ट्रिय महिला दिवसले सबै क्षेत्रमा महिलाको सहभागिता र समान अवसर सुनिश्चित गर्न प्रेरणा प्रदान गर्नेछ।



प्रतिक्रिया दिनुहोस !