३ चैत्र २०८१, सोमबार

युनिभर्सल माध्यमिक विद्यालयको ३२ औं अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न

प्रकाशित मिति :  8 March, 2025 9:57 am


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ स्थित युनिभर्सल माध्यमिक विद्यालयले आफ्नो ३२ औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

विविध कार्यक्रमसहित सम्पन्न भएको उक्त समारोहमा एनप्याब्सनका केन्द्रीय अध्यक्ष नारायण कर्मा कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रम विद्यालयका प्राचार्य विजय राज खरेलको सभापतित्वमा आयोजना गरिएको थियो भने विभिन्न विद्यालयका प्राचार्य, समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई आकर्षक बनाउन विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने नृत्य तथा गीत प्रस्तुत गरेका थिए । स्काउट टोलीले अनुशासन, सेवा भाव र सामाजिक उत्तरदायित्वबारे प्रस्तुति दिएको थियो भने तेक्वान्दो टोलीले आकर्षक मार्सल आर्ट प्रदर्शन गरी दर्शकहरूको मन जित्यो। विद्यालयको म्युजिक ब्यान्डले समेत आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनायो।

यस वर्षको अभिभावक दिवसको अर्को विशेष आकर्षण फुड फेस्टिबल र कार्निभल रह्यो। कार्यक्रममा नेपाली परम्परागत खाना देखि लिएर अन्तर्राष्ट्रिय स्वाद समेटिएका फुड स्टलहरू राखिएका थिए। साथै, कार्निभलमा विभिन्न खेल गतिविधि, पपकोर्न स्टल, फेस पेन्टिङ तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका थिए।

कार्यक्रमको महत्वपूर्ण पक्ष विज्ञान प्रदर्शनी रह्यो, जहाँ विद्यार्थीहरूले नवीकरणीय ऊर्जा, रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्० तथा वातावरणीय विज्ञान सम्बन्धी विभिन्न परियोजनाहरू प्रदर्शन गरे। अतिथिहरूले विद्यार्थीहरूका सिर्जनशील परियोजनाहरूको प्रशंसा गर्दै यस्ता गतिविधिहरूलाई अझ परिस्कृत गर्दै लैजान सुझाव दिए।

कार्यक्रममा प्रमुख अतिथि नारायण कर्मा कार्कीले सर्वांगीण शिक्षाको आवश्यकता औंल्याउँदै युनिभर्सल विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रशंसा गरे। उनले शिक्षण शैलीमा नवीनता ल्याउनुपर्ने सुझाव दिँदै अभिभावकहरूलाई पनि घरमै राम्रो शैक्षिक वातावरण तयार गर्न आग्रह गरे ।

विद्यालयका प्राचार्य विजय राज खरेलले विद्यार्थीहरूको बहुप्रतिभा विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिने बताउँदै अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा समूहमा काम गर्ने क्षमताको विकास गर्ने उल्लेख गरे । अभिभावकहरूले विद्यालय प्रशासनको शिक्षणशैली, अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम व्यवस्थापनको प्रशंसा गर्दै यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य खरेलले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै विद्यालयलाई गुणस्तरीय शिक्षाको गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ।



प्रतिक्रिया दिनुहोस !