चार्टड विमानमा आएका डीजे एलोकले एलओडी क्लबमा दिए धमाकेदार प्रस्तुति

काठमाडौँ । विश्वका उत्कृष्ट डीजेमध्ये एक, ब्राजिलियन डीजे एलोकले काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्। शुक्रबार राति आयोजित कार्यक्रममा उनले उपस्थित दर्शकलाई धमाकेदार प्रस्तुति दिए।
डीजे एलोक विश्वभरका उत्कृष्ट सय डीजेमध्ये चौथो स्थानमा पर्छन्। उनी नेपालमा मात्र नभई भारतमा समेत शो गर्ने क्रममै रहेको हुँदा चार्टड विमानमार्फत नेपाल आएका थिए।
एलोक रातको १२ः३० बजे स्टेजमा उक्लिँदा क्लब दर्शकको उत्साहपूर्ण प्रतिक्रियाले गुन्जिएको थियो। क्लबको विशेष लाइटिङ र साउन्ड सिस्टमसँगै उनको प्रस्तुति अझै रोमाञ्चक बनेको थियो।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार क्लबले पहिलो पटक यस्तो स्तरको कलाकारलाई चार्टड विमानमार्फत आमन्त्रित गरेको हो। कुँवरले भने, “डीजे एलोकको प्रस्तुति हेर्न उल्लेखनीय संख्यामा दर्शक उपस्थित थिए। आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरका कलाकार ल्याउने योजना छ। यसले नेपालमा क्लब संस्कृति, संगीत र पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्नेछ।”
क्लबले डान्स फ्लोरका लागि प्रति व्यक्ति २,००० रुपैयाँ र भीआईपीका लागि ३,००० रुपैयाँको टिकट दर तोकेको थियो।
यसअघि पनि एलओडी क्लबमा बलिउड गायक(गायिका नेहा कक्कर, अर्मान मल्लिक, इण्डियन आइडल विजेता पवनदीप, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले प्रस्तुति दिइसकेका छन्।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९, ५२ र ५० औँ स्थानमा परिसकेको छ। बेलायतस्थित ‘डीजे म्याग’ले सन् २०२४ का लागि उत्कृष्ट सय क्लबको सूचीमा एलओडीलाई ५० औँ स्थानमा राखेको थियो भने सन् २०२५ का लागि क्लब नोमिनेसनमा परिसकेको छ ।