१० चैत्र २०८१, सोमबार

ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिद्वारा श्रमिक र्‍याली सम्पन्न

प्रकाशित मिति :  9 March, 2025 9:04 pm


काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महिला समितिले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रमिक र्‍याली आयोजना गरेको छ। समितिकी अध्यक्ष प्रमिला ढुंगाना लम्सालको नेतृत्वमा माइतीघर मण्डलाबाट निस्किएको र्‍याली बानेश्वरमा कोण सभासहित सम्पन्न भएको हो।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिमा आवद्ध २७ वटा संघ तथा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लासहित बागमती प्रदेशका श्रमिकहरूको सहभागिता रहेको उक्त कोण सभालाई नेपाली कांग्रेसकी नेत्री कमला पन्तले सम्बोधन गरेकी थिइन्।

सार्कटुक महासचिव लक्ष्मण बहादुर बस्नेतले सरकारद्वारा घोषित ‘सबै महिला र युवतीहरूका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराको व्याख्या गर्दै महिला श्रमिकहरूले बराबरीको अधिकार सुनिश्चित गर्नुपर्ने बताए। उनले नेतृत्व तहमा रहेका महिलाहरूलाई हौसला प्रदान गर्दै समान अवसरको माग अघि बढाउन आग्रह गरे।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले महिला समानताको पक्षमा समितिले निरन्तर काम गरिरहेको बताए। उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिए पनि सदस्यता वृद्धि गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, समितिकी उपाध्यक्ष राधिका कुइकेलले श्रमिकहरूले संविधानको मर्मअनुसार समान कामको समान ज्याला पाउनुपर्ने बताइन्। उनले श्रम ऐनमा रहेका लैङ्गिक अधिकार कार्यान्वयन गर्नुपर्ने तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्।



प्रतिक्रिया दिनुहोस !