१० चैत्र २०८१, सोमबार

लुम्बिनी सञ्चार समाचार प्रभावः ६ वर्षपछि पुनः सञ्चालनमा आयाे भीरकाेट बसपार्क

प्रकाशित मिति :  10 March, 2025 9:07 am


काठमाडौँ । भीरकोट नगरपालिका वडा नम्बर १ स्थित बयरघारी बजारका बासिन्दाले देखेको व्यवस्थित बसपार्कको सपना पूरा हुन छ वर्ष कुर्नुपर्याे । पार्किङ अव्यवस्था, सडकमा जथाभावी राखिएका सवारीसाधन, ट्राफिक जाम-यी र यस्तै समस्याले दैनिक जीवनलाई झन् जटिल बनाइरहेको थियो । तर, अन्ततः त्यो प्रतीक्षाको घडी टुंगिएको छ।

छ वर्षअघि निर्माण भएको भए पनि लामो समय सञ्चालनमा आउन नसकेको बयरघारी बसपार्क गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। अब मुख्य सडक क्षेत्र खुला र सुरक्षित रहनेछ, भने यात्रुहरूलाई बस चढ्न-ओर्लन सहज हुनेछ। नगरपालिकाले ‘नो पार्किङ’ अभियान सुरु गर्दै मुख्य सडक किनारमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरेको छ।

यस बसपार्कलाई सञ्चालनमा ल्याउन लुम्बिनी सञ्चारले निरन्तर रूपमा आवाज उठाउँदै आएको थियो । पटक–पटक उठाइएका यी विषयले अन्ततः सम्बन्धित निकायको ध्यान खिच्न सफल भयो । अब बयरघारीबासीले व्यवस्थित बसपार्कको सुविधा पाउनेछन्, जसले बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ । अब बयरघारी बजार मात्र होइन, भीरकोट नगरकै समग्र यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन आउने अपेक्षा स्थानीयहरुले गरेका छन् ।

बयरघारी बसपार्ककाे कथा

भीरकोट नगरपालिकाले विकास योजनाको रूपमा बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले वि.सं २०७५ साल भदौ १ गतेदेखि स्थानीय कृष्णकाजी केसी, ज्ञानबन्धु केसी, सीत कार्की केसी, मनदेवी थापा (वीरबहादुर थापा), पवित्रा थापा, क्षेत्रबहादुर थापा, इन्द्रबहादुर थापा, भवानी देवी शाह खाँण (हेम बिक्रम खाँण), ज्ञानेन्द्रकुमारी केसी, विन्दुदेवी खाँण (ढाल बिक्रम खाँण), ज्ञानेन्द्र विक्रम खाँण र शिला ठकुरीहरूसहित १२ जना जग्गाधनीहरूसँग १ हजार ६५ रोपनी ३२ आना जग्गा भाडामा लिएको थियो ।

सम्झौताअनुसार नगरपालिका २०७५ साल भदौदेखि २०८१ साल माघ मसान्तसम्म १३ लाख १२ हजार ४६५ रुपैयाँ भाडा भुक्तानी भइसकेको छ । तर, ६ वर्षभन्दा बढी समय बित्दा पनि नगरपालिकाले उक्त जग्गा प्रयोगमा ल्याउन सकेको थिएन्। पालिकाले करिब १० लाख खर्चेर निर्माण गरेको बसपार्क नियामक निकाय नगरपालिकाको वेवास्ता र व्यवसायीहरूको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको उक्त जग्गाको कुनै उपयोग भएको थिएन् तर लुम्बिनी सञ्चारले सो विषयमा विगत केही वर्षदेखि उठान गर्दै आएपछि उक्त बसपार्क सञ्चालनमा आएको हो ।

त्यसो त लामो समयसम्म बसपार्क प्रयोगमा नआउनुको प्रमुख कारणहरूमा स्थानको अनुपयुक्तता, सुरक्षा सुविधाको अभाव, र सरोकारवाला निकायहरूको समन्वयको कमी रहेका छन्। यातायात व्यवसायी र चालकहरूले बसपार्क उपयुक्त स्थानमा नभएको, यात्रुहरूको चहलपहल नहुने, र सुरक्षा सुविधाको अभाव रहेको गुनासो अहिले पनि गरेका छन्। यस परिस्थितिमा, बसपार्कको विकल्प खोज्नु अत्यावश्यक देखिन्छ।

तस्विरः एनपी काेइराला



प्रतिक्रिया दिनुहोस !