६ बैशाख २०८२, शनिबार

गोदावरी गाउँमा बाँसभित्र भविष्य खोजिरहेका शिल्पी

प्रकाशित मिति :  29 March, 2025 5:05 pm


काठमाडाैँ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसबाट बनाइने सामग्री सम्बन्धी तालिममा २० जना भन्दा बढी स्थानीय व्यस्त छन्। चीनको छिनसेनबाट आएका कालिगढहरूले नयाँ तथा आकर्षक डिजाइनको सामग्री बनाउने सीप सिकाइरहेका छन्।

बडिखेलका महेश कुमार पहरीले बाँसको कटेज, डालो, नाङ्लो बनाउने काम गर्दै आएका थिए। जब चीनबाट तालिमको कुरा सुनियो, उनी निकै उत्साहित भए। उनको भनाइमा बाँसको काम पुर्खौली पेसा भए पनि यसलाई व्यवसायीकरण गर्न कठिन भइरहेको थियो। नयाँ डिजाइनको सीप अभावका कारण बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए। चिनियाँ प्रशिक्षकहरूले दिएको तालिमले उनलाई फिनिसिङ र आकर्षक डिजाइन बनाउन मद्दत गरेको छ।

तालिममा १६ वर्षीया समिना पहरी पनि सहभागी छिन्। उनका बुबाले पनि बाँसका सामग्री बनाउने काम गर्छन्। पढाइका कारण यसअघि बाँसको काम सिक्ने अवसर नपाएकी उनले विद्यालय छुट्टीको समय सदुपयोग गर्दै यो तालिमलाई अवसरको रूपमा लिएकी छिन्। सुरुवातमा गाह्रो लागे पनि उनले १५ दिनभित्रै राम्रोसँग सिक्ने आत्मविश्वास व्यक्त गरिन्।

तालिम दिन आएका चिनियाँ प्रशिक्षक लि यिनहाई नेपाल आएपछि नेपालीहरूको उत्साह देखेर दंग छन्। नेपालमा पहिलो पटक आएका उनले नेपालीहरूमा रहेको लगनशीलता देखेर आफू उत्साहित भएको बताए। चिनियाँ शैलीको लालटिन बनाउन नेपाली प्रशिक्षार्थीहरूलाई दुई दिनमै सिक्न सकेको देख्दा उनी प्रभावित भए। उनको भनाइमा नेपालीहरू मेहनती छन् र यो तालिमले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नेछ।

तालिममा सहभागी बाबुराम पहरीले नयाँ कला र डिजाइन सिक्न पाएको बताए। उनका अनुसार होटल, रेस्टुरेन्ट र घरहरूमा झुण्ड्याउने लालटिनहरूको माग बढ्दै गएकाले यसले राम्रो बजार पाउने आशा छ। तालिममा महिलाको सहभागिता धेरै छ। सहभागी राधिका पहरीका ससुराले बाँसको काम गर्छन् र उनले डोको, नाङ्लो बनाउन सहयोग गर्थिन्। नयाँ सामग्री बनाउने इच्छा भएपछि उनी पनि तालिममा सहभागी भएकी हुन्।

तालिम हेर्न आएका ४० वर्षदेखि बाँसको काम गर्दै आएका नरबहादुर पहरीले पछिल्लो समय बाँसका सामग्रीको बिक्री राम्रो भए पनि नयाँ पुस्ताले यसलाई सिक्न नचाहेकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार, विदेश जाने प्रवृत्तिले बाँसका शिल्पीहरूको संख्या घट्दै गएको छ।

गोदावरीमा बाँसको सामग्री बनाउनेहरूलाई व्यवसायिक बनाउन यो तालिमले मद्दत गर्ने विश्वास सामाजिक विकास भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले व्यक्त गरे। चीनको तिब्बत स्वायत्त प्रदेशमा मुख्यालय रहेको गुडविल फाउन्डेशनका अध्यक्ष मा झेजियाङले नेपालमा बाँसको सम्भावना ठूलो रहेको बताए।

प्लास्टिकको विकल्पमा बाँसको प्रयोगले हरित विकासलाई प्रवर्द्धन गर्ने र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विश्वास गरिएको छ। मिस्टर माका अनुसार, चीनको सिचुवान प्रान्तको छिनसेन काउन्टीले बाँसको उद्योगबाट आर्थिक समृद्धि हासिल गरेजस्तै, गोदावरीले पनि बाँसलाई आधार बनाएर भविष्य बदल्न सक्छ।



प्रतिक्रिया दिनुहोस !