६ असार २०८२, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै : कुलमानबारे प्रधानमन्त्रीको जवाफ आज आउने

प्रकाशित मिति :  31 March, 2025 9:03 am


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ । बैठकमा सरकारका तर्फबाट विभिन्न विधेयकहरू प्रस्तुत गरिनुका साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ पनि आउनेछ ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेका प्रतिनिधि सभाका बैठकहरूमा प्रतिपक्षी दलहरूले संसद अवरोध गरेका थिए। कुलमान घिसिङलाई हटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रधानमन्त्रीबाट स्पष्टिकरण माग गरेका थिए।

प्रधानमन्त्रीले आजको बैठकमा प्रतिपक्षी दलहरूको मागअनुसार जवाफ दिने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । यदि स्पष्टिकरण नआएमा प्रतिपक्षी दलहरूले आजको बैठक पनि अवरोध गर्ने चेतावनी दिएका छन्।

बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

साथै, उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्ने छन्।



प्रतिक्रिया दिनुहोस !