अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ‘ध्यान, ज्ञान र देवभूमि’का रूपमा परिभाषित गर्दै यस भूमिलाई विश्वव्यापी ज्ञानको सुरुवात भएको पावनस्थलको रूपमा घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्घाखाँचीको प्रसिद्ध शुद्धारण्य क्षेत्रमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची नै भएकोमा कुनै शंका नरहेको स्पष्ट पारे ।
“यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरू सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।”
उनले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै भने, “पाणिनिले संस्कृत व्याकरणको ३,९५९ वटा सूत्र तयार गरेकाे थियो, जुन ‘अष्टाध्यायी’ ग्रन्थमा समेटिएको छ। ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (AI) विकासमा समेत प्रयोग भइरहेका छन् ।”
भाषाको विकास, छन्दको सुरुवात र सङ्गीतको लयसमेत पाणिनिको व्याकरणसँगै सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले यस भूमिले मानव सभ्यताका महत्वपूर्ण आयामहरूलाई जन्म दिएको बताए ।
प्रधानमन्त्री ओलीले पाणिनिसँगै शिव, सिङ्ग ऋषि, पतञ्जलीलगायतका महर्षिहरूको साधना, तपस्या, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रको रूपमा रहेको अर्घाखाँचीलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
उनले भने, “नेपाल सरकारले यस क्षेत्रको विकासका लागि आवश्यक ध्यान दिइसकेको छ । धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि समग्र योजनासहित काम अघि बढाइनेछ ।”
पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रमको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र ऋषि परम्पराको आधारमा पाणिनिको साधना स्थल अर्घाखाँची नै भएको दाबी गरे ।
“ऋषिहरू ध्यान र तपस्याका लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो,” उनले भने ।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिसँगै अर्घाखाँची जिल्लाको धार्मिक र बौद्धिक महत्त्व थप उजागर भएको छ । पाणिनिको स्मृतिमा आगामी दिनमा थप अनुसन्धान, प्रचारप्रसार तथा पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ।