४ जेष्ठ २०८२, आइतबार

चप्पल (शनिवासरीय)

प्रकाशित मिति :  10 May, 2025 7:02 am


एक साँझ/म ज्यैको द्वाङ परेको चप्पल सिउँदैथेँ । खापसुईले । ज्यैले भन्नु भो बालाई, ‘बे गर्ने भइयो दिलु । एउटो चब्ली किनदिनुपर्छ ये दिलुका बा । ज्यै, चब्ली किन्देऊ भनेर मुटु खान्च मेरो । तिलु, लुजे, रिसामी । नइयाँ चब्ली लाएर आउँचन् भन्च । स्कूलन् ।’

दिल महरा

जिङरीङ जुँगा पारेर, बा मतिर घुर्नु भो । डरले घोसे गराएँ मुन्टो मैले । सकिनसकि । ठसठसी कन्दै । ज्यैले फालेको चप्पल सिइरहेँ म । बाले सोध्नुभो ।
–‘दिलु । हो ?’
–जमिनतिर हेरेर हल्लाएँ टाउको मैले । बा, कालीसुर्तीको फाकमार्दै गाउँतिर हतारिनुभो । घरको करङसी काटेपछि बोल्नु भो बा, ‘अर्को मईना पिरालु बेचेर किन्दिम्ला म ।’
००० ००० ०००

पिँडालु खन्ने दिन
घरपारीको ठूलोगैरा । घामले छल्याङ बल्याङ भो । निन्नउरी किरा बास्न थाले–झिँजो लाग्ने गरी । म स्कूल जानलाई हतारिरहेको थिएँ । बाले पोहोरसाल चिन्नेथानको मेलाबाट ल्याइदेको पुत्लेझोला । पुत्लेझोलामा कोचारीरहेकोथेँ किताब कापी म । भकारमा सोत्तर खेरदै हुनुहुन्थ्यो ज्यै । ज्यैले भन्नु भो मलाई, ‘दिलु । आज हाप छुट्टी हुन्च । छुट्टी भएसी बाख्रा ले’ र आएस् खोररे । तेरा बा र म पिरालु उम्काउन जान्चम तेई ।’

बाले घुरुम्म । दाउरोको भारी फाल्नु भो करङसीमा । चिलचिल निधारको पसिना । पसिना बाले पुछ्नुभो डब्लनेटको टोपीले । बाले पनि भन्नु भो मलाई । “भुलि म लिवाङ जानेम् । मेरो सङ् जान्छस् । चप्पल किन्दिम्ला म । बाउछोरा जाम्ला । जल्फी नि खालास् पेटभरि । बरु हापछुट्टीपछि । छिटो घर आएस् आज । मेरो नेक्कर र बनेल धुइदेस् । तेरो नि धोयस् । नेक्कर । किरबिरे कमिज । अनि खोररे आएस ।’

ज्यै, मतिर हेरिरहनु भो । लिवाङ जाने । चप्पल क्mिन्ने । जेरी खाने । खुसीको थप्पलीहरु चुल्लिरहे ममा । अग्ला न अग्ला । मनले सगर छुला पो जस्तो भो । थोतो दात देखाउँदै । बुर्कुसीमारेर दौडिएँ म स्कुल । ज्यै र बा एकस्वरमा भन्दै हुनुहुन्थ्यो, ‘ओ, दिलु । लोड्लास् । सुस्तरी जा स्कूल ।’
००० ०००

स्कुल पुगेँ म । तिलु , लुजे, रिसामी । नयाँ चप्पल लाएर आकाथे स्कुल । हिजो पूर्णेका बाले पनि पूर्णेलाई ल्याइदेछन्–नयाँ चप्पल । पूर्णेले स्कूलको गिरोनसम्म । हातमा समाएर आयो चप्पल । मेरो छेउ पुगेपछि ठसठसी कन्दै खुट्टामा छिरायो । मलाई देखाउँदै भन्यो, ‘हेर दिलु । मेरो नइयाँ चप्पल । बाले लिइदेको हिज ।’

मैले राम्ररी हेरनै पाथेन् । पूर्णे चप्पल देखाउँदै दौडियो पर–पर । तिलक ,लुजे, रिसामी । अरु विद्यार्थी पनि हेर्न थाले–उस्को चप्पल । मलाई डाहा भइरयो मनभरि । मनमनै भनेँ पनि । ‘भोलि म पनि नयाँ चप्पल लिन्छु । देखाउँछु सबैलाई ।
कक्षा कोठामा । म भोलि लिवाङ जाने कुरा गरेँ–मैले । बाले जेरी किन्दिन्छु भनेको कुरा पनि गरेँ । सब–सब चकित परे । पूर्णेनेले त फकायो मलाई, ‘दिलु, एकछिन लगा मेरो नइयाँ चप्पल । बरु मलाई नि सानो छुना । जल्फी ल्याइदिएस् हैगे ।’
घण्टी लाग्यो हापछुट्टीकोे । सबभन्दा अघि घर दगुरेँ–म । खुसीले भोक थिएन ममा । भात खाइनँ पनि । बाले रिट्टामा भिजाइदिइको नेक्कर । बनेल । मेरो कमिज, नेक्कर । छिटो छिटो धोइसिद्धाएँ । जाबिमा बासी रोटी । चुमबाट छोप निकालेँ–थोरै । सिगारी बाख्रोलाई अघि लगाएँ मैले । एक बगाल बाख्रा लख्दै पुराएँ खोर्रे । मेरो मनमा खुसीको बाइपङ्खी घोडा थियो–जो सगरमाथा जत्तिकै अग्लो न अग्लो भई दौडिरह्यो ।

खोर्रे पुग्दा म । बा भस्काइरहनुभएको थियो–माटो । ज्यै जिलाइरहनुभएको थियो पिडाँलु । सेलाको एक धुम । गानाको एक धुम । बाले सुस्केरा हाल्दै एकछिन बिश्राम लिनुभो । सुर्तीले अखरी परेका दाँत बाका । दाँत देखाउँदै हाँस्नुभो–ज्यैतर्फ फर्कि बा । झुम्के डोरी ल्याई दिनु–भन्नु भो ज्यै । बोल्नुभएन बा । बरु टोपीले अनुहारको पसिना पुछ्नु भो–सरक्क । भकभकि फेरि खन्न सुरु गर्नुभो–पिडाँलु ।

सिगाँरी बाख्रा । लुपुलुपु गर्दै ज्यैको छेउ आयो । ज्यैले धपाउनु भो पर । जान मानिन सिगारी बाख्रा । फर्कियो मेरो छेउ । मैले बिगारीदिएको उस्को बानी । छेउमा आयो त खाने कुरा केहि न केहि दिनुपर्ने । जाबिबाट रोटीको छुना दिएँ । च्यापच्याप पार्दै । लम्याक–लम्याक कालनातिर हानियो– सिगारी बाख्रो ।

बा, भकभकि भस्काइरहनु भो–माटो । ज्यै जिलाको जिलै पिडाँलु । बाले सक्नुभो खनेर । ज्यैले सक्नु भो जिलाएर । एकछिन थकाइ मार्न बस्नु भो बा । ज्यै पनि बस्नु भो । बाले लिवाङको गफ दिन थाल्नु भो हाम्लाई, ‘……..।’ ‘लिवाङ न पुलिस बस्छन् । सेना नि बस्छन् । हाकिम, हाकिम्नी । कस्ता–कस्ता परने । नाम्रा–नाम्रा केराकेटी । चकिचकाउँछन्–दोकान । जे पनि पाइने । छउले छउलेका खानेकुरा । जल्फी, छोले, डब्लरोटी । किरबिरे लत्ताकपडा । के–के हुन् । के–के ?…..। गाडी नि आउँछन् । मच्चि–मच्चि डगुरेर…….।’

गालामा हात लाएर, म सुनिरहेँ–बाको कुरा । ज्यैले एउटा कुरा सोध्नुभो बालाई, ‘दिलुका बा, गारीले फुल पारेर कोरल्छ चल्ला कि ? पान्च नानी ।’
सास फुस्कने गरी हाँस्नु भो बा । ज्यैका कुराले खासै छोएन मलाई ।
टोड्के लेकमा पुगिसकेको थियो–घाम । मेरो छेउमा सिँगारी बाख्रो पुटूङ्ै अघाएर आएको थियो । पानी भर्ने डोकोभरि पिँडालु बोकेर उठ्नुभो–बा । डाङ्गे्र जाबिभरि पिँडालु बोकेर उठ्नुभो ज्यै पनि । मैले सबै बाख्रा खेरेर अघि दगुरेँ । बा र ज्यै गुनगुन गरेको सुनेको हुँ, ‘यस खेपमा दिलुलाई जसरी नि किन्दिनुपर्च–चप्पल । नाङ्गै खुट्टा खोच्चाउँदै हिड्छ–बिचरा ।’
००० ००० ०००

आदिघरे बाजेको रातो भाले
मनभरि खुसी जमाएर सुतेको थिएँ म–साँझ । गाउँभरिको बिहानको समय । आदिघरे बाजेको रातो भालेले दिन्थ्यो पहिला । त्यसपछि गाउँका अरु भाले बास्थे–एकनास । बिहान भएछ । आदिघरे बाजेको रातो भाले फट्फटाउँदै बास्यो, ‘कुखुरी काँ क क क ।’
सिको गर्दै–अरुको घरमा बासे भाले ।
भुत्त……भुत्त …..फ्याट् ……फ्याट्……….।

‘कुखुरी काँ क क क ।’ ‘कुखुरी काँ क क क ।’ ‘कुखुरी काँ क क क ।’
ज्यै उठ्नुभो । बा पनि उठ्नुभो । म दाम्सिरहेँ–ओछ्यान् मै । मैरामा बाजे कराइरनुभो, ‘बेन्तारा व्याइस्को…….. ।’ ज्यै मलाई उठाउन आउनुभो । आँखा मिच्दै–उठेँ–म । अगेँनामा झरो धिपधिप गरिरहेको थियो । बाले लिवाङ लग्ने । पिडालुको भारी मिलाउँदै हुनुुहुन्थ्यो त्यहि–उज्यालोमा । हिजो म आफैले पछारी–पछारी धोएको कपडा । कपडा लगाउन दिनुभो ज्यैले । कपडामा काँचै गन्ध छ रिठ्ठाको । मैले किरबिरे कमिज लगाएँ । नेक्कर लगाएँ । बाटोमा खस्छ भनेर नेक्कर । नेक्कर ज्यैले पट्वाको सरोले चपक्क कस्दिनुभो कम्मरमा । हाट जाने डोकोभरी । पिँडालु बोकेर बा हिड्नुभो । बाको जाल खेल्ने जाबी भरी पिँडालु बोकेर म हिडेँ । मैरामा ज्यैले आफ्नो घोर्लाङे चप्पल । चप्पल लगाउन दिनुभो मलाई । म अगाडी । बा पछाडी । लम्याक–लम्याक हिडिरह्यौं लिवाङ जानलाई बा र म ।

द्वाङ परेको ज्यैको चप्पल । एउटा रातो फित्ता । अर्को हरियो । मेरो खुट्टामा घोर्लाङ घोर्लाङ छ । हिडाई मेरो लप्ठ्याङ–लप्ठ्याङ । एक प्रकारको असजिलो थियो–हिडाई । नसुहाउँदो भैरहकोेथियो हिडाई । रिस उठ्यो मेरो । बालाई भने–“म यो चप्पल लगाएर सक्दैन् हिड्न बा । खाली खुट्टा हिड्छु म ।”
बाले मान्दिनु भो मेरो कुरा । मैले चप्पल जाकिदिएँ–असुरोको झ्वाङमा । नयाँ चप्पल लाउने रहर । रहरले बाटोमा । बा भन्दा दुई चार हात अघिअघि दौडिरहेँ–म । नाङ्गै खुट्टा ।

००० ००० ०००

एघार वजे
सातताले खोलामा बाले सोध्नुभो । कपडा पसल साहुलाई ।
“साउजी । टेम कति भो ?” साहुजीले उत्तर दियो । “ करेक्ट एघार बजो ।”
बाले मलाई भन्नु भो, ‘एघार बजेछ बिहानको’, ‘हेर केटो । त तेरो जिन्दगीमा । एघार बजे लिवाङ आइस्–पहिलो पटक ।’ बा र म हिडिरह्यांै । बाटामाथि । बाटामुिन । राम्रा–राम्रा ढुङ्गे घर । बाले भने जस्तै । राम्रा–राम्रा मेरो उमेरका केटाकेटी । झिलिमिली पसलहरु । स्त्रि गरेर कोट पाइन्ट लगाएका खाइलाग्दा मान्छेहरु । बाले नभनेको अर्को कुरा नि देखँे मैले बजारन । पाइन्ट लगाएका केटीहरु । म ट्वाँ परिरहेँ । बजारमा अर्को कुरा नि देखेँ नयाँ । शरीरमा एउटै कपडा लगाउँदा रहेछन् बजारका महिलाहरु । ठाउँ–ठाउँमा मान्छेहरु पिँडालु किन्थे–हाम्रो । बा बेच्दै हिडिरहनुभो । हिड्दा बाले भन्नुहुन्थ्यो । यिनीहरु पुलिस, सेना, हाकिमका परिवार हुन् । म खुब चस मानेर सुनिरहेँ–बाका कुरा । पिँडालु बेच्दै बा र म टुँडिखेल पुग्यौं । टुँडिखेलको एक चपरो ठाउँमा डोको बासाल्नुभो–बाले । म पनि बसेँ । बा भन्दा गोरो एउटा मान्छे पिँडालु किन्न आयो । ज्यैले भारमा केरा छामे जसरी पिडालु छामिरह्यो गोरो मान्छे । नाम सोध्यो मेरो । म चुप परेर बसिरहँे । बाले नै भन्दिनुभो मेरो नाम । गोरो मान्छेले फेरि पनि सोध्यो मलाई–“स्कुल जान्छस् ?”
म बोल्दै बोलिनँ । बाले नै भन्दिनुभो ।
“जान्च सर । तीन किलासन फास्ट मारेर चारन पर्च ।”

गोरो मान्छेले मैले बोकेको जाबीको पिँडालु किनेर सबै लग्यो । डोकोमा पिँडालु बाँकी थियो अझै बेच्न । बा र म डोको समाएर बेच्न बसिरह्यौं पिँडालु टुँडिखेलमा ।

टुँडिखेलमा बुट्टा भर्दै गाडीहरु हिडेका बाटो देखिए । बाले भन्नुभो । गाडीको खुट्टाले बनाएको बुट्टा । म गाडी हिडेको बाटैबाट अलि पर हिडेर पुगेँ । गाडीले कस्तो राम्रो खुट्टाले बुट्टा बनाउन जानेको । म चकित भएँ । बालाई सोधेँ–‘बा गाडीले चप्पल लाउँछ कि लाउँदैन् ?’ बा हाँस्नुभो । खितखित……गरेर । पछि भन्नुभो–‘गाडी मान्छे हैन । गाडीले चप्पल लाउँदैन हेर केटा ।’
००० ००० ०००

बाले किन्देको हरियो चप्पल
पिँडालु बेचिसकिम–हाम्ले । मलाई पाँच रुपैयाँको जेरी । एक कचौरा छोला किन्दिनुभो–बाले । आफूले खानु भो रोटी । छोला खाएर सकेँ –मैले । जेरी जाबीमा राखेँ । बा र म मेरो चप्पल किन्न हिड्यौं । हरियो रङको चप्पल किन्दिनुभो–बाले । चार पाँच पटक नाप्नुभो मेरो खुट्टा । चप्पल ठिकथ्यो मलाई । बाले कागजमा बेर्नु भो चप्पल । मेरै जाबीमा हाल्दिनुभो ।

“अरु केही लग्छस केटो ?” बाले सोध्नुभो मलाई । म हाँस्दै अहँ भनेँ । एउटा लम्चुस चाँही किन्दिनुभो । बा र म घर फर्कियौं । बाटामा लम्चुस चुस्दै म हिडेँ । खुसीले होला । समय समयमा एकखुट्टे उफ्रिदो रहेछु म । बाले लडिन्छ भनेर सम्झाउनुहुन्थ्यो । लिवाङ निफ्रेर रेउघा आएपछि बाले भन्नुभयो ।
“चप्पल लार हिन केटो । खुट्टा पिराउच ढुङाले ।”

बाको मुख हेर्दै भनेँ मैले, ‘चप्पल लगाउँन्न बाटोमा बा । पुरानो हुन्छ चप्पल । म स्कुल जाँदा मात्र लगाउने हुँ । मलाई हेरेर फिस्स हाँस्नुभो बा । यही बेला मैले बाको खुट्टा हेरेको हुँ । बाले पनि द्वाङ परेको चप्पल त लाउनुभाथ्यो । बाको खुट्टा ढुँङ्गाले घोचेनन् होला र ? बा । चप्पल किन किन्नुभएन तपाईले । नयाँ चप्पल । तपाईको खुट्टा नपिराउने चप्पल । मेरो जस्तै हरियो रँगको नयाँ चप्पल ।



प्रतिक्रिया दिनुहोस !