रुन्टीगढीबासीकाे पीडा सुन्दा मन्त्री भूमिश्वर ढकाल स्तब्ध : असोजभित्र पुलको शिलान्यास गर्ने प्रतिज्ञा
“बर्खामा हामी बच्चा बोकेर खोला तर्छौं, स्कुल जाने बाटो बन्द हुन्छ, बाँच्नकै लागि यात्रा गर्नुपर्छ मन्त्रीज्यू”, वडाध्यक्ष पुनले भावुक हुँदै सुनाइन्

दाङ । “ग्वारखोलाले हरेक वर्षातमा मान्छे बगाउँछ । बिरामी अस्पतालसम्म पुग्न पाउँदैनन्, विद्यार्थी बाटामै रोकिन्छन् । हामीलाई यो शास्ती कहिलेसम्म मन्त्रीज्यू ?’’, रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ की तुलसीकुमारी पुनको यो पीडादायी आवाज ग्वारखोलाको गर्जनभन्दा गहिरो थियो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल ग्वारखोला किनार उभिएर स्थलगत निरीक्षण गर्दै थिए तर त्योभन्दा बढी उनी स्थानीय नागरिकका घोचिला पीडा सुन्दै थिए ।

“बर्खामा हामी बच्चा बोकेर खोला तर्छौं, स्कुल जाने बाटो बन्द हुन्छ, बाँच्नकै लागि यात्रा गर्नुपर्छ, मन्त्रीज्यू”, वडाध्यक्ष पुनले भावुक हुँदै सुनाइन्, “वर्षेनी कोही न कोही बग्छ, यसपालि पनि एउटी वृद्धा बग्नुभयो”, अध्यक्ष घर्तीको आवाजमा असहायपन मिसिएको थियो ।
मन्त्रीसँग अन्तक्रियामा जुटेका नेकपा एमाले रुन्टिगढी गाउँपालिका कमिटीका अध्यक्ष अमराज बस्नेतले भने, “यो केवल पुल होइन, हाम्रो जीवनको बाटो हो मन्त्रीज्यू । हजुर हाम्रो पीडा सुन्न यहाँसम्म आइदिनुभयो, यसका लागि धन्यवाद । बजेट बिनियोजन भयो भने सिंगो रुन्टिगढीबासीकाे तर्फबाट यहाँलाई पूनः धन्यवाद दिनेछौं ।”
स्थानीय जनप्रतिनिधिहरू र नागरिकहरूसँगको अन्तरक्रियामा जनताको अप्ठ्यारो, अवरोध र आशा सुनेपछि गम्भीर हुँदै मन्त्री ढकालले पुल निर्माणका लागि प्रतिबद्धता जनाए ? “तपाईंहरूका कुरा मेरा लागि आदेशजस्तै हुा् । पुल निर्माणमा अब ढिलाइ हुँदैन, आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पुल प्राथमिकताका साथ समेटिने छ ।”
शारीरिक अस्वस्थताका बिच पनि आफू स्थलगत अनुगमनमा आएको जनाउँदै मन्त्री ढकालले भने, “तपाईँँहरुले भोगेका पीडा सुनेर बजेट निर्माणको पूर्वसन्ध्यामा स्थलगत अनुगमनमा आएको हुँ । सरकारबाट विगतमा के भयो, यतातर्फ म जाँदिन । अब पुल बन्नेछ, असोजभित्र शिलान्यास हुन्छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमै यसको समावेश गर्छ ।”
स्थलगत निरीक्षणको क्रममा मन्त्री ढकाल गाउँपालिका–६ का अध्यक्ष घनबहादुर घर्ती, वडा–८ का तुलसीकुमारी पुन, नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतलगायत स्थानीयसँग संवाद गरे । प्रतिबद्धता जनाए, स्थानीयहरुका पीडामा मल्हम लगाए ।
प्रतिनिधि सभा सदस्य इश्वरी घर्ती मगरको निरन्तर आग्रह
प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरले मन्त्री ढकाललाई स्थलगत भ्रमण गराउन लामो समयदेखि दबाब दिइरहेकी थिइन् । मन्त्रीको उपस्थितिपछि उनले भनिन्, “हामीले वर्षौंदेखि माग गर्दै आएका थियौँ, आज माननीय मन्त्री ज्यू स्थलगत अनुगमनमा आएर हाम्रा पीडिा सुन्नु भयो, उहाँलाई धन्यवाद । अब कार्यान्वयनमा जानुपर्छ ।”
बजेट, श्रमदान र स्थानीय प्रयास
२०७० सालमा यो सडकको ट्रयाक खुले पनि पुल नबन्दा १२ वर्षदेखि जनजीवन प्रभावित छ । चालु आव २०८१/८२ मा विनियोजित १ करोड ३० लाख बजेट अन्तै सारिएको स्थानीयहरुको आक्रोश छ ।
बजेटको भर नपरेर अहिले स्थानीय आफैले श्रमदान सुरु गरेका छन् ।
सिमेन्ट, छड सहयोगमा जुटाउँदै, मिस्त्रीलाई ज्याला तिरेर, खोलामा अस्थायी मोटरसाइकल पुल बनाउँदै छन् । “अब सरकार आउला आउला भनेर पर्खँदा पर्खँदा जिन्दगी नै बित्यो, अब हामी आफैँ लागेका छौँ”, वडाध्यक्ष पुन स्थानीय लालबहादुर पुनले भनले भनिन् ।
स्थानीयहरुको श्रमदानलाई स्वागत गर्दै मन्त्री ढकालले भने, “यहाँहरुले सरकारलाई झकझक्याउनु भएको छ । जसरी आज बजेट मागका लागि यहाँहरुले गरेको मिहिनेत भोलि समयमै निर्माण सम्पन्न गर्नमा पनि निरन्तर खबरदारी गर्नुहोला ।
ग्वारखोलाको पुल रोल्पाबासीका लागि केवल भौतिक संरचना होइन, त्यो बाँच्न पाउने अधिकारसँग जोडिएको मुद्दा हो । मन्त्री ढकालले जनताका पीडा सुनेका छन्, देखेका छन्, वाचा गरेका छन् । अब प्रश्न बाँकी छ–के यो वाचा पुरा हुन्छ ? यसपालि साँच्चै पुल बन्छ ?