६ असार २०८२, शुक्रबार

सत्ता समीकरणमा फेरबदलको संकेत : संसद् अवरोध खुलाउन राजनीतिक गृहकार्य तीव्र

प्रकाशित मिति :  9 June, 2025 5:44 am


काठमाडौँ । पछिल्ला दिनहरूमा सत्ता गठबन्धनको समीकरणमा नयाँ तरंग देखिएको छ। संसद्को लामो अवरोध अन्त्य गर्न र वर्तमान सत्ता गठबन्धनमा नयाँ समीकरण बनाउने प्रयासमा प्रमुख दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायत दलहरू एमालेलाई छाडेर वैकल्पिक गठबन्धन निर्माणको तयारीमा देखिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति असन्तुष्टि राख्दै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्ला दिनमा बारम्बार भेटवार्ता भएका छन् । स्रोतहरूका अनुसार उनीहरूले नयाँ सत्ता समीकरणको विषयमा गम्भीर छलफल गरिरहेका छन् ।

छानबिन समिति नै मुख्य माग
प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका थिए। पछिल्लो समय भने गृहमन्त्रीको राजीनामा मागमा केही लचकता देखाउँदै छानबिन समिति गठन भए संसद् अवरोध हटाउने सम्भावना देखिएको छ ।

शनिबार कांग्रेस सभापति देउवासँग भेट गरेका प्रचण्डले आइतबारको प्रतिपक्षी दलको बैठकमा छानबिन समितिको प्रतिबद्धता भए सदन सुचारु गर्न सहकार्य गर्नुपर्ने धारणा राखेको जानकारी छ ।

सत्ता समीकरण फेरबदलको संकेत
एमालेलाई बाहिर राखेर कांग्रेस, माओवादी, रास्वपा, एकीकृत समाजवादी र केही साना दलहरूलाई समेटेर नयाँ गठबन्धन बनाउने गृहकार्य भइरहेको स्रोतले जनाएका छन् । यद्यपि, रास्वपाका नेता मनीष झाले नयाँ सत्ता समीकरणबारे औपचारिक प्रस्ताव नआएको स्पष्ट पारेका छन् ।

तर, देउवा र प्रचण्डबीचको नजिकिँदो सम्बन्ध तथा रास्वपालाई पनि सँगै राखेर अगाडि बढ्ने योजनाका संकेतले सत्ता समीकरण पुनर्संरचनाको सम्भावना बलियो भएको देखिन्छ ।

यसबीच, प्रधानमन्त्री ओलीले गठबन्धनभित्र मतभेद नरहेको दाबी गरेका छन् । कीर्तिपुरमा आयोजित अनेरास्ववियुको २४औं महाधिवेशनमा ओलीले कांग्रेससँग सत्ता हस्तान्तरणको सहमति पुनः दोहोर्याउँदै १३ महिनापछि नेतृत्व सुम्पने बताएका छन् ।

ओलीले भने, “हाम्रा विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजिरहेका छन्, तर हामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै अघि बढिरहेका छौं ।” उनले एमाले एकल बहुमतसहित फर्किने दाबी गर्दै गठबन्धनको एकता कायम रहेको जिकिर गरे।

बैठक स्थगित, सहमति अझै अपूरो
आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक समय–समयमा सारिँदै अन्ततः स्थगित भएको छ। सोमबार दिउँसो २ बजे नयाँ बैठक तय गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरे, प्रमुख दलका प्रमुख सचेतकहरूसहित निरन्तर संवाद भइरहे पनि ठोस सहमति हुन सकेको छैन । समाचार राजधानी दैनिकले छापेकाे छ ।



प्रतिक्रिया दिनुहोस !