पाल्पामा यार्सागुम्बा भेटिएपछि उत्साह: जैविक सम्पदाबाट स्थानीय आर्थिक रुपान्तरणको आशा

दाङ । पाल्पाकाे रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेक क्षेत्रबाट यार्सागुम्बा भेटिएको पुष्टिपछि उत्साहको लहर फैलिएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरमा गरिएको परीक्षणले उक्त वस्तु बहुमूल्य जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित गरेपछि अब यसले स्थानीय आर्थिक परिवर्तनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
यसरी भेटियाे यार्सा
गत साता रिमिघा लेकमा झाडी सरसफाइका क्रममा सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । परीक्षणपछि यार्सागुम्बा नै भएको पुष्टि भएपछि गाउँपालिकाले तत्काल सो क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरेको छ । यार्साको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले अझै केही दिन उक्त क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णयसमेत गरेको छ ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” भने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, “तर यो कुन प्रजातिको हो, औषधिजन्य मूल्य कति छ भन्ने अझै पुष्टि हुन बाँकी छ ।”
अर्थतन्त्रमा सम्भावित प्रभाव
विगतमा यार्सागुम्बा नेपालको डोल्पा, मुगु, बझाङ, बाजुरा, दार्चुला, संखुवासभा, भोजपुर लगायतका उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटीको रूपमा चिनिएको थियो। तर, समुन्द्र सतहबाट १,८०० मिटर उचाइमा यार्सागुम्बा भेटिनु आर्थिक र जैविक दृष्टिले नौलो तथा महत्वपूणर् घटनाका रूपमा हेरिएको छ ।
सामान्यतया यार्सागुम्बा समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइसम्मको क्षेत्रमा पाइने हुँदा यस घटनाले यार्साको वितरण र अनुकूलन क्षेत्रबारे पुनर्विचार गराउन थालेको छ।
यार्सागुम्बा अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै महँगो दरमा कारोबार हुने वस्तु हो । हाल चीन, हङकङ, सिंगापुरलगायतका मुलुकहरूमा प्रतिकिलो २५ देखि ५० लाख रुपैयाँसम्ममा यसको मूल्य हुने गरेको देखिन्छ। नेपालको यार्सागुम्बा निर्यात आयको प्रमुख स्रोत बन्न पुगेको छ ।
स्थानीय रोजगारी र आम्दानीमा सम्भावित बृद्धि
यार्सागुम्बा भेटिएको स्थलगत क्षेत्रमा यदि वैज्ञानिक व्यवस्थापनका साथ संकलन र व्यवसायिक उपयोग गर्न सकिने वातावरण निर्माण भयो भने यो पाल्पाका लागि आर्थिक दृष्टिले महत्वपूर्ण मोड हुन सक्छ । यसले पर्यटन, जडीबुटी व्यवसाय, स्थानीय उद्यमशीलता तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना प्रबल छ।
यार्सागुम्बा संकलन गर्ने सिजनमा उच्च हिमाली क्षेत्रमा हजारौं मानिसहरू अस्थायी रूपमा बसोबास गरी यार्सा सङ्कलन गर्छन्, जसले उनीहरूलाई वार्षिक रूपमा लाखौं आम्दानी दिने गर्छ । अब पाल्पामा समेत यार्साको व्यवस्थापनका लागि सरकारी नीतिगत तयारी जरुरी देखिन्छ ।
चुनौतीहरू र संरक्षित उपयोगको आवश्यकता
हालसम्म यार्सागुम्बा संकलनले वनजंगलको क्षति, अवैध कारोबार, सामाजिक द्वन्द्व तथा कर नतिरी निर्यात जस्ता समस्या निम्त्याएको अनुभव गरिँदै आएको छ । यस पटकको खोजले पाल्पालाई आर्थिक लाभ त दिलाउन सक्छ, तर जैविक विविधता संरक्षण र वैज्ञानिक ढंगको व्यवस्थापनमा सरकार र स्थानीय तह दुवैको भूमिका स्पष्ट र सशक्त हुन आवश्यक छ।
नेपाल आयुर्वेद अनुसन्धान परिषद्का अनुसार यार्सागुम्बा एक प्रकारको च्याउ र लार्भाको संयोजन हो, जसमा औषधीय गुणले गर्दा यो ‘हिमालयन भियाग्रा’ को उपनामले समेत चिनिन्छ । यसले शक्ति वृद्धि, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सो तथा मिर्गौला रोगमा उपयोग हुने औषधिको मूल तत्वका रूपमा काम गर्छ ।
पाल्पा जिल्लाको रिमिघा लेक क्षेत्रबाट यार्सागुम्बा भेटिनु केवल जैविक खोज मात्र होइन, यो स्थानीय समुदायको आर्थिक विकासको नयाँ सम्भावना पनि हो। तर यसका लागि दीर्घकालीन दृष्टिकोण, वैज्ञानिक अनुगमन, समुदाय-सरकार सहकार्य र दिगो उपयोग रणनीति अपरिहार्य हुने देखिन्छ ।