युनेस्कोको ढोका ढक्ढक्याउँदै तिलौराकोट
प्राचीन बुद्धभूमि तिलौराकोटलाई युनेस्कोको सूचीमा सूचीकृत गराउन पर्यटनमन्त्री पाण्डे पेरिस प्रस्थान
दाङ । २९ वर्षको उमेरमा राजमहल त्यागी ज्ञानको खोजीमा निस्कँदा सिद्धार्थ गौतमले जुन द्वारबाट बिदाइ लिए, त्यो द्वार आज पनि उस्तै मौन छ-कपिलवस्तुको तिलौराकोटमा ।
यहीँ उनले बाल्यकाल बिताए, यहीँ राजकुमारको जीवन देखे र यहींबाट भौतिक विलास छाडेर बौद्ध दर्शनको उज्यालो बाटो समाते । तिलौराकोट, जहाँ बुद्धको पदचाप छन्-अब विश्वसम्पदाको ढोका ढक्ढक्याउने संघारमा छ ।
यही ऐतिहासिक यात्रालाई निर्णायक बनाउँदै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सोमबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।
युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा उनी कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने औपचारिक प्रस्ताव प्रस्तुत गर्न गएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पाण्डेलाई मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरे । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्ने दिशामा कोसेढुङ्गा सावित हुनेछ ।
इतिहासका तह खोल्ने उत्खनन्
तिलौराकोट कुनै मिथकको कथा होइन । यो नेपालको माटोमै समाहित २५ सय वर्षभन्दा पुरानो इतिहासको जीवित दस्तावेज हो । २०१४ सालदेखि जारी उत्खनन् कार्यले तिलौराकोटलाई प्राचीन सभ्यताको केन्द्र, संगठित गणराज्य र औद्योगिक शहरको रूपमा स्थापित गरेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुर्हाम विश्वविद्यालय (बेलायत) र थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा गरिएको अनुसन्धानले तिलौराकोट बुद्धपूर्व युगको महान सभ्यता रहेको पुष्टि गरिसकेको छ।
ईपू आठौं शताब्दीमै यहाँ योजनाबद्ध शहरीकरण भएको तथ्य भेटिएको छ। चारैतर्फ किल्ला र पर्खालले घेरिएको यस नगरीमा दरबार, स्तूप, औद्योगिक क्षेत्र, विहार, पोखरी, इनार, नाली, सडक-सबै संरचना क्रमशः भेटिएका छन् । पर्खालको माटोमा सिलिएको समय, धातुका अंश, पञ्चमार्क मुद्राहरू र चाँदीका अवशेषहरूले वैज्ञानिक सत्यता थपेका छन् ।
पुरातत्वविद्हरु भन्छन्, “उत्खनन जुवा हो, तर तिलौराकोटको खालमा हामीले बाजी जित्यौं ।” पाँचौं शताब्दीमा आएका चिनियाँ यात्रु फाइयान र सातौं शताब्दीका ह्वेनसाङले वर्णन गरेका संरचनाहरू पनि उत्खननबाट भेटिनुले तिलौराकोटको ऐतिहासिकता निर्विवाद बनाएको छ।
बुद्धको बाल्यकालदेखि गणराज्य संस्कृतिसम्म
तिलौराकोट केवल धार्मिक आस्थाको थलो होइन, यो एक ऐतिहासिक गणराज्य थियो-जहाँ शुद्धोधनजस्ता राजाहरूले शासन गर्थे र सिद्धार्थले न्याय, करुणा र दार्शनिकता सँगै हुर्किएका थिए । यसै स्थलबाट उनले सम्वेदनशील राजकुमारबाट विश्वबोधी बन्ने साहसिक यात्रा सुरु गरेका थिए । यही कारण तिलौराकोट नेपालको संघीयता र समावेशी शासन व्यवस्थाको प्राचीन अभ्यासको प्रतीकस्थल पनि हो ।
विश्वसम्पदाका लागि निर्णायक मोड
हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरूको प्रतिनिधित्व छ ।
कमिटीमा बहुमतका आधारमा निर्णय हुने हुँदा नेपालको पक्षमा कूटनीतिक लबिङ निर्णायक बन्नेछ । तिलौराकोट सूचीकृत भएमा लुम्बिनी क्षेत्रको समग्र पर्यटन विकास र अन्तर्राष्ट्रिय मान्यतामा गुणात्मक फड्को मारिनेछ ।
नेपाल सरकारले तिलौराकोटको पुरातात्त्विक क्षेत्रलाई आफ्नो स्वामित्वमा लिएर त्यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ । जग्गा अधिग्रहण, पैदलमार्ग निर्माण, बुद्धमार्ग विस्तार र कपिलवस्तु संग्रहालयको स्तरोन्नतिको काम तिब्र रुपमा अघि बढिरहेको छ।
तौलिहवासम्म डबल लेन सडक, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धमूलक स्थलहरूलाई जोड्ने ३६ किमि बुद्धमार्गको निर्माण र संग्रहालय पूर्वाधार विकासले तिलौराकोटको पर्यटन सम्भावना प्रष्ट पारेको छ ।
लुम्बिनी गुरुयोजनाअन्तर्गत निग्लीहवा, गोटिहवा, कुदान, सिसहनिया, सगरहवालगायतका अन्य स्थलहरू पनि जोडिन थालेपछि ‘बुद्ध सर्किट’को सम्भावना झनै सशक्त बन्दै गएको छ ।
प्रदेश सरकार, लुम्बिनी विकास कोष र स्थानीय सरकारको सक्रियता तथा बेलायतको दुर्हाम विश्वविद्यालयको अनुसन्धानले तिलौराकोटलाई अब विश्वसम्पदामा प्रतिष्ठित गराउने वातावरण तयार गरेको छ।
तिलौराकोटको इतिहास केवल बुद्धसँग सम्बन्धित छैन-यो नेपालकै सांस्कृतिक अस्मिता, शासकीय विरासत, मानव सभ्यता र धार्मिक सहिष्णुताको जीवन्त प्रमाण हो । पेरिसको बैठकबाट यदि तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुन्छ भने, यो केवल कपिलवस्तुको मात्र गर्व हुने छैन-यो सम्पूर्ण नेपाली पहिचान र सशक्त इतिहासको विश्वस्तरीय सम्मान हुनेछ । तिलौराकोट-जहाँबाट सुरु भएको थियो ज्ञानको यात्रा, अब संसारकै सांस्कृतिक नक्शामा छाप छोड्ने संघारमा छ ।








