विपद्काे चपेटामा नेपाल : तीन महिनामै ८४ जनाको मृत्यु, चट्याङ र आगलागी प्रमुख कारक
काठमाडौँ । गएको वैशाखयता मुलुकभर विविध प्रकृतिका विपद्का घटनाहरूले ठूलो जनधनको क्षति गराएको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्मको छोटो अवधिमा मात्र ८४ जनाको ज्यान गएको छ भने २६ जना अझै पनि बेपत्ता छन् ।
सबैभन्दा बढी क्षति चट्याङका कारण भएको देखिन्छ । यस अवधिमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् ।
ग्रामीण भेगमा बस्ती र कृषिक्षेत्रमा चट्याङको प्रत्यक्ष प्रभाव बढिरहेको तथ्यांकले देखाउँछ । यसले वातावरणीय चेतना, सुरक्षित संरचना निर्माण र सतर्कता प्रणालीको अभावलाई समेत उजागर गर्छ ।
त्यसैगरी, आगलागी अर्को प्रमुख विपद् रूपमा देखिएको छ । आगलागीका घटनामा १३ जनाको ज्यान गएको छ भने १२७ जना घाइते भएका छन् ।
यस्ता घटनामा घर, पसल र सामुदायिक संरचनाको क्षति पनि उल्लेख्य छ । अधिकांश आगलागी घटनामा विद्युतीय शॉर्ट सर्किट, खाना पकाउने क्रममा लापरवाही, जङ्गल क्षेत्रको आगो नियन्त्रणमा नआउनुले थप जटिलता ल्याएको छ ।
विपद्को विविध रूप : जनावरदेखि लेकसम्म
विपद्का घटनाहरू केवल प्राकृतिक या जलवायुसम्बन्धी मात्रै छैनन् । जनावरको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । बँदेल, हात्ती, भालुजस्ता वन्यजन्तुको आक्रमणले खासगरी सीमावर्ती वन क्षेत्रमा बसोबास गर्ने समुदायमा त्रास फैलाएको छ ।
उच्च हिमाली भेगमा लेक लागेर पनि ११ जनाको मृत्यु भएको छ । यसले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सुरक्षित ट्रेकिङ, पर्यटकीय यात्रा तथा लडाइँ अभ्यासका क्रममा शारीरिक र पूर्वतयारीको आवश्यकतालाई औंल्याउँछ ।
यस्तै, बाढीमा परेर ९ जनाको मृत्यु भएको छ । हावाहुरीबाट ८ जना, पहिरोबाट ५ जना, सर्पदंशबाट ३ जना र भारी वर्षाको कारण १ जनाले ज्यान गुमाएका छन् ।
बेपत्ताको संख्या र चुनौतिहरू
बेपत्ता हुनेको संख्या २६ पुगेको छ, जुन समग्र विपद् व्यवस्थापन प्रणालीको चुनौती हो । बाढी, पहिरो, नदी कटान र दुर्घटनाजस्ता घटनापछि खोज तथा उद्धार कार्यको प्रभावकारिता र समयसापेक्ष हस्तक्षेप अपर्याप्त देखिन्छ ।
विपद्का घटनाहरूले जलवायु परिवर्तन, मानवजन्य लापरवाही र संस्थागत कमजोरीबीचको जटिल सम्बन्ध देखाउँछन् । बढ्दो जोखिमका बीच राज्य र स्थानीय तहको तयारी, जनचेतना र विपद्प्रतिको प्रतिक्रिया प्रणाली अझ सशक्त हुन जरुरी देखिन्छ ।
सहर तथा गाउँ दुवै क्षेत्रमा पूर्वसूचना प्रणाली, सुरक्षित संरचना निर्माण, विद्यालयस्तरसम्मको विपद् शिक्षा, विपद् बिमा प्रणालीको विस्तार तथा अन्तरसंस्थागत समन्वयमार्फत मात्र क्षतिको दर घटाउन सकिन्छ ।
तीन महिनामै ८४ जनाको मृत्यु हुनु आफैँमा एक चेतावनी हो । यदि तत्काल कदम चालिएन भने आगामी महिनाहरूमा मनसुनसँगै थप ठूलो क्षति नहोला भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले, विपद् न्यूनीकरणलाई विकास योजनासँग समायोजन गर्दै जनस्तरसम्मको समन्वयमा आधारित प्रतिकार्यको समय आइसकेको छ ।








