२० मंसिर २०८२, शनिबार

सामाजिक सञ्जालले सम्झाइदिएको ‘सिमलताल दुर्घटना’ : उनन्चालिस जना अझै बेपत्ता

बिरगञ्जबाट काठमाडौँ र काठमाडौँबाट गौर जाँदै गरेका दुई बस त्रिशूलीमा खस्दा ६२ मध्ये ३९ अझै बेपत्ता छन्
प्रकाशित मिति :  12 July, 2025 11:48 am


दाङ । आज बिहानैदेखि सामाजिक सञ्जाल फेरि एउटा साझा पीडाले भरिएको छ-सिमलताल दुर्घटनाको सम्झनाले । गत साल असार २८ गते अर्थात आजैकाे दिन भएकाे सिमलतारा दुर्घटनाकाे पीडाले भरिएकाे सामाजिक सञ्जालका फोटो, स्टाटस र भावुक सन्देशले उही पीडादायी दुर्घटनाकाे स्मरण गराइदिएका छन् ।

सामाजिक सञ्जालका डिजिटल भित्ताहरूले जनाएका छन्-२०८१ असार २८ गते राति त्रिशूलीमा बगाइएका ती ३९ जीवनहरू अझै फर्किएका छैनन् । एक वर्ष बितिसक्दा पनि हराएका ती अनुहारहरू, ती आवाजहरू, ती सपना अझै पनि बेपत्ता छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले असार २८ मा त्यो रातको कालरात्री सम्झिने गरेका छन् । बेपत्ता यात्रुका आफन्तहरूले फेसबुक, ट्विटर (एक्स) र टिकटोकजस्ता माध्यममा ‘फिर्ता आऊ न’ भन्दै लेखेका सन्देशले समग्र देशलाई पीडामय बनाउँछ। घटनालाई विस्मृतिको गर्तमा लैजाँदै गर्दा यिनै डिजिटल आवाजहरूले पुनः प्रश्न उठाएका छन्-के बेपत्ता ३९ जना यात्रु अझै पनि खोजिनुपर्दैन ?

दुई बस, ६२ यात्रु, अनि बाँकी रह्यो शून्यता
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल्स डिलक्स (बा.प्र.०३–००६ ख १५१६) र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स (बा.प्र.०३–००१ ख २४९५) सिमलतालस्थित त्रिशूली किनारबाट एकैपटक बगाइए । ती दुई बसमा कुल ६२ यात्रु थिए । दुर्घटनापछि ३ जना जीवितै उद्धार गरिए, २० जनाको शव फेला पारियो तर बाँकी ३९ जना अझै पनि हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार एञ्जल्स बसमा २६ जना यात्रु थिए, जसमा ७ जना भारतीय थिए । तीमध्ये १० जनाको शव भेटिएको छ भने १६ जना अझै पनि बेपत्ता छन्।

त्यसैगरी, गणपति बसमा ३६ जना सवार थिए, ३ जना जीवितै उद्धार भए, १० जनाको शव भेटियो र २३ जना अझै पनि खोजीका पर्खाइमा छन् ।

खोजी प्रयास : नदीको गहिराइभन्दा गहिरो बेपत्ता अवस्था
दुर्घटनापछि नेपाली सुरक्षाकर्मी र गोताखोरहरूले त्रिशूली नदीको गहिराइ पत्ता लगाउँदै खोजी थाले तर त्रिशूलीले कुनै गुनासो नसुनिएको जस्तो गर्‍यो । पछि विदेशी गोताखोरसमेत बोलाइए, आधुनिक प्रविधिहरू प्रयोग गरिए तर नदी मौन रह्यो ।
नारायणी नदीदेखि भारतको सीमासम्म शवहरूको खोजी गरियो, तीमध्ये दुईवटा शव त भारतीय भूमिमा भेटिए। तर बाँकीहरू अझै अदृश्य छन् ।

घटनाको विस्तृत अध्ययन गर्न गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्‍यो । कार्यदलको प्रतिवेदनले दुर्घटनाको मूल कारण असम्बद्ध भूगोल, वर्षात र इन्जिनियरिङ्ग विहीन सडक निर्माणलाई ठहर्‍यायो ।
सडकमा क्रस स्लोप अत्यधिक देखिएको थियो, न त पर्खाल थिए, न त पहिरो नियन्त्रणको पूर्वतयारी। यिनै कमजोर संरचनाहरूले दुई वटा बसलाई त्रिशूलीमा धकेल्यो ।

कार्यदलले राज्यका सबै निकायलाई सुझाव दियो-सडकको गुणस्तरीय इन्जिनियरिङ, क्षतिपूर्ति वितरणमा ढिलाइ नगर्ने र बेपत्ता यात्रुको खोजी यथासक्य निरन्तर गर्ने। गृहमन्त्री रमेश लेखकले त तत्कालै प्रतिवेदन ‘अक्षरशः कार्यान्वयन गर्छु’ भनेका थिए तर वर्षौं बितिसक्दा पनि त्यो वाचा वातासँगै उड्यो ।

डिजिटल स्मृति : पीडामा बचिरहेको सहानुभूति
सरकारी संयन्त्र मौन भए पनि डिजिटल संसार मौन छैन। असार २८ ट्विटरमा #SimaltalDisaster, #NeverForgetSimaltal, #TrishuliTragedy जस्ता ह्यासट्यागले उक्त दिन सम्झाइदिएका छन् ।

यो केवल दुर्घटना सम्झाउने माध्यम होइन, राज्यलाई पनि सम्झाउने चेतावनी बनेको छ-दुर्घटना सधैं भूल होइन, कहिलेकाहीँ लापरवाहीको परिणाम हो ।

सम्झनाको बोझ, जवाफदेहीताको अभाव
सिमलताल दुर्घटना, नेपालको सडक संरचना, विपद् व्यवस्थापन र राज्यको संवेदनहीनताका प्रतिबिम्ब हुन्। एक वर्षपछि पनि न त जिम्मेवार कोही ठहरिएका छन्, न त नयाँ संरचनामा परिवर्तन देखिएको छ। त्रिशूलीमा बगिएका ती ३९ सपनाहरू साँच्चिकै हराएका हुन् वा राज्यको लापरवाहीले हराइएका हुन्-यो प्रश्न अझै खुल्लै छ।

सामाजिक सञ्जालहरूमा सक्रिय नेपाली नागरिकहरूका लागि यो दुर्घटना एउटा घाउ हो, जसले हरेक असारमा फेरि ताजा बन्छ। सरकारका लागि भने सायद त्यो केवल ‘पुरानो घटना’ हो । तर सम्झनुहोस्, घटना पुरानो होला, पीडा कहिल्यै पुरानो हुँदैन ।



प्रतिक्रिया दिनुहोस !