शैक्षिक समृद्धिको मोडल बन्दै देवदह : पूर्वाधार, दर्शन र दृष्टिको एकीकृत यात्रा
रुपन्देही । देशका बहुप्रतीक्षित विकास योजनाहरूको सूचीमा अब लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘देवदह गुरुयोजना’ थपिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सार्वजनिक गरिएको यो गुरुयोजना केवल भवन निर्माण र भौतिक पूर्वाधारको खाका मात्र होइन, यो लुम्बिनीलाई शैक्षिक गन्तव्यको रूपमा उचाइमा पु-याउने दीर्घकालीन दृष्टिको अभिव्यक्तिको रूपमा हेरिएको छ ।
करीब ८० अर्ब रूपैयाँको लागतमा बन्ने गुरुयोजना लुम्बिनी बौद्ध विश्वविद्यालयको संस्थागत विकास, अन्तर्राष्ट्रिय पहुँच र शैक्षिक पर्यटन प्रवर्द्धनको मूल आधार बन्ने विश्वास गरिएको छ ।
विशेषतः गौतम बुद्धको जन्मथलो लुम्बिनी, उनको कर्मथलो देवदह र समकालीन शैक्षिक विकासको सशक्त मोडको रूपमा उदाउँदै गएको बुटवल क्षेत्रलाई समेटेर बनाइएको योजनाले प्रदेश मात्र होइन, मुलुककै शैक्षिक दिशानिर्देशनलाई मोड दिने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयको भूमिका : शान्ति, दर्शन र अनुसन्धानको केन्द्र
उपप्रधानमन्त्री पौडेलले गुरुयोजनाको सार्वजनिक कार्यक्रममा लुम्बिनीलाई ‘शैक्षिक गन्तव्य’को रूपमा विकास गर्नु समयको माग भएको स्पष्ट गरे । विश्वभरबाट विद्यार्थीहरूलाई तान्न सक्ने शैक्षिक वातावरण तयार पार्नुपर्छ भन्ने उनको धारणा स्पष्ट थियो । उनले भने, “गुरुयोजना केवल कागजमा सीमित हुन हुँदैन, विश्वविद्यालयले त्यसलाई कार्यान्वयनमा ल्याएर गुणस्तरीय शिक्षाको उदाहरण दिनुपर्छ ।”
गौतम बुद्धको विचार, दर्शन र बौद्ध सभ्यताको शास्त्रीय अध्ययनमात्र नभई आधुनिक विषयहरूको पनि अध्यापन गराउने विश्वविद्यालयको तयारी प्रशंसनीय देखिन्छ ।
उपप्रधानमन्त्री पौडेलले लुम्बिनी र गौतमबुद्धलाई ‘ब्राण्डिङ’ गरेर अन्तरराष्ट्रिय स्तरमा फैलाउने रणनीतिमा जोड दिनुभएको छ । शान्तिको सन्देश दिने ठाउँले अब ज्ञानको दीप पनि बाल्ने संकेत यसले गरेको छ ।
देवदह गुरुयोजना : भौतिक पूर्वाधारसँगै दृष्टिको विस्तार
देवदह गुरुयोजना केवल भवन र संरचना निर्माणको खाका होइन । यो योजनाले शैक्षिक अनुसन्धान, अन्तरराष्ट्रिय विद्यार्थी आकर्षण, स्थानीय जनशक्ति विकास र पर्यटन प्रोत्साहनलाई समेत एकैसाथ जोड्न खोजेको छ ।
विश्वविद्यालयले सञ्चालन गर्ने परियोजनाहरू जस्तै त्रिपिटक पार्क, शिक्षा विकास परियोजनालगायतले क्षेत्रीय समृद्धिमा सघाउ पुर्याउने छन् ।
करिब ९२ बिघा जमिनमा विस्तार हुने यो योजनाले अबको केही वर्षभित्रै लुम्बिनीलाई एक शैक्षिक केन्द्र मात्र नभई अध्यात्म, दर्शन र संस्कृति बुझ्ने प्रयोगशालाका रूपमा स्थापित गर्न सक्छ ।
यति ठूलो लगानीसँगै अनुसन्धान, शिक्षण र ज्ञानको अन्तरक्रियात्मक सञ्जाल बनाउन सकिएमा विश्वविद्यालयले नमूना केन्द्रको मान्यता पाउन समय लाग्दैन ।
नेतृत्व र प्रतिबद्धता : योजनाबाट कार्यान्वयनतर्फ
पूर्वाधार बनाउने कुरा पटक–पटक सुनिँदै आएको भए पनि कार्यान्वयनको खाल्डोले धेरै महत्वाकांक्षी योजनाहरू थाँती परेका छन् ।
यस सन्दर्भमा उपप्रधानमन्त्री पौडेलको टिप्पणी महत्वपूर्ण छ-“बजेट भएर मात्रै विकास हुँदैन ।” लुम्बिनी विकास गुरुयोजना ४० वर्ष पार हुँदा पनि अपूर्ण रहनुले चेतावनी दिइरहेको सन्देश उनले दिए ।
संस्थागत इमानदारी, सांस्कृतिक चेतना र दीर्घकालीन सोच बिना ठूला आयोजना अधुरा रहने सन्दर्भमा उनको भनाइले योजनाको सफल कार्यान्वयनको आधार ‘नेतृत्वको गुण’ मा भर पर्ने स्पष्ट गर्छ । यस अर्थमा विश्वविद्यालय प्रशासनको समर्पण र सरकारी सहयोगको समन्वय अनिवार्य देखिन्छ ।
स्थानीय सरोकार र अन्तरराष्ट्रिय पहुँच
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले विश्वविद्यालयलाई ‘राष्ट्रिय गौरव’को आयोजना ठहर गर्दै केन्द्र र प्रदेश सरकारको विशेष चासो र लगानीको आवश्यकता औंल्याए । यसले देखाउँछ-स्थानीय तहसमेत विश्वविद्यालयसँग आत्मीय रूपमा जोडिएको छ ।
अहिले विश्वविद्यालयमा दुई सयभन्दा बढी विदेशी विद्यार्थी र तीन हजारजति कूल विद्यार्थी अध्ययनरत छन् । यिनीहरूका लागि अन्तरराष्ट्रिय स्तरको छात्रावास निर्माण पनि सुरु भएको छ, जुन २० महिनाभित्र सम्पन्न हुने बताइएको छ । खडैया क्षेत्रमा १२ करोड ८३ लाख लागतमा बन्ने यो छात्रावास ‘शैक्षिक वातावरण सुधार’ तर्फको महत्वपूर्ण पाइला हो ।
शैक्षिक पर्यटन : लुम्बिनीको नयाँ परिचय
विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले प्रवर्द्धनात्मक कार्यक्रममार्फत ‘शैक्षिक पर्यटन’ भित्र्याउने योजनाको जानकारी दिए ।
यसबाट लुम्बिनी अब केवल पर्यटकीय गन्तव्य मात्र होइन, अध्ययन र शोधको केन्द्रका रूपमा स्थापित हुने सम्भावना बलियो बनेको छ । विशेषतः बौद्ध दर्शनमा रुचि राख्ने एसियाली, युरोपेली र अमेरिकी विद्वान तथा विद्यार्थीहरूका लागि यो ठाउँ आकर्षण बन्न सक्छ ।
देवदह गुरुयोजना, छात्रावास निर्माण, अनुसन्धानमूलक परियोजना र उच्चस्तरीय शैक्षिक संरचना यी सबैले अब लुम्बिनी बौद्ध विश्वविद्यालयलाई साधारण शैक्षिक संस्थाबाट राष्ट्रिय गौरवको आयोजनातर्फ उन्मुख गराएका छन् ।
उपप्रधानमन्त्री पौडेलको उपस्थितिमा सार्वजनिक भएको यो योजना केवल दीर्घकालीन शैक्षिक परियोजना होइन, यो लुम्बिनी प्रदेशको समृद्धिको मेरुदण्ड बन्ने आधार हो ।
देवदह, लुम्बिनी र बुटवल यी तीन थलो अब केवल भूगोल होइनन्, समृद्धि, शान्ति र शिक्षाको एकीकृत संकल्प हुन् । अबको चुनौती भनेको योजना, प्रतिबद्धता र कार्यान्वयनको त्रिकोणलाई दृढताका साथ अगाडि बढाउनु हो । तब मात्र लुम्बिनी साँचो अर्थमा ‘शान्ति र शिक्षाको राजधानी’ बन्नेछ ।








