कोदाे: नेपालको चौथो प्रमुख खाद्यान्न बाली, पोषण र आत्मनिर्भरताको स्रोत
महानन्द सापकोटा
कोदो, नेपालको धान, मकै र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो। विशेषगरी पहाडी भेगमा मकैपछि दोस्रो प्राथमिकतामा पर्ने यो बाली कागुनो, चिनो, जुनेलो जस्ता मिलेट वर्गका अन्य बालीहरूसँग सम्बन्धित छ। विपन्न वर्गका परिवारको मुख्य खाद्य स्रोतका रूपमा रहेको कोदो रोगकीटको प्रकोप न्यून हुने, जलवायु अनुकूलनीय, अर्गानिक तथा वातावरणमैत्री बालीको रूपमा चिनिन्छ।
स्थानीय स्रोत र साधनको प्रयोगमार्फत उत्पादन गर्न सकिने यो बालीमा प्रशस्त मात्रामा आइरन, फाइबर, प्रोटिन तथा अन्य औषधीय गुण पाइन्छ। सिमान्त समुदायका लागि कोदो केवल खाद्यान्न मात्र नभई जीवन र आजीविकाको आधारसमेत हो। बन्यजन्तु विशेषगरी बाँदरबाट कम क्षति हुने र भिरालो, पाखो, कम पानीयुक्त क्षेत्रहरूमा समेत सजिलै उत्पादन गर्न सकिने भएकाले यो किसानमैत्री बाली मानिन्छ।
खेतीमा घट्दो रुचि र चुनौती
नेपाल कृषि प्रधान मुलुक भए तापनि २०५० सालपछि रोजगारीको खोजीमा शहरमुखी बसाइँसराइ बढेसँगै पहाडी गाउँहरू धमाधम खाली हुँदै गए।
२०७२ सालको विनाशकारी भूकम्पपछि हिमालदेखि तराईसम्मका धेरैजसो खेतीयोग्य जमिन बाँझो हुने क्रम अझ तीव्र भएको छ। खेतीयोग्य जमिन संरक्षण हुन नसक्दा पहिलेसम्म प्रचलनमा रहेको आपसमा श्रम साटासाट (आर्मापर्मा) गर्ने चलन हराउँदै गएका छन्।
पछिल्लो समय असारमा धान र साउनमा कोदो रोप्ने समय पारेर गरिने सामाजिक मेला–पात, सामूहिक श्रमदान जस्ता परम्परागत अभ्यास पनि लोपोन्मुख अवस्थामा छन्। यसका कारण कोदो तथा कोदोसम्बन्धी बालीहरूको बीउ पनि संरक्षणको अभावमा संकटमा परेको देखिन्छ।
कोदाको बहुआयामिक महत्व
१) खाद्य सुरक्षा
कोदो पोषणयुक्त अन्नबाली हो जसले ग्रामीण बासिन्दाहरूको खाद्य आवश्यकता पुरा गर्छ। विशेषतः पहाडी क्षेत्रमा चामलको विकल्पका रूपमा ढिँडो, रोटी आदि बनाउने गरिन्छ। ‘सिता खाने भित्ता लागे, पाँदुर (कोदो) खाने तीग्रालागे’ भन्ने नेपाली उखानले कोदाको पोषण र खाद्य सुरक्षामा योगदान देखाउँछ।
२) पोषणको स्रोत
कोदोमा फाइबर, क्याल्सियम, आइरन, प्रोटिन र एन्टिअक्सिडेन्ट पाइन्छ। मधुमेह, रक्तचाप, सुगर, ग्याष्ट्रिकलगायतका रोगीहरूका लागि कोदो उपयोगी मानिन्छ।
३) आर्थिक पक्ष
कोदाबाट पिठो, मुन्टो (रक्सी, जाँड) आदिको रूपमा खाद्यान्न उत्पादन गरी साना किसानले आम्दानी गर्न सक्छन्। पछिल्लो समय बजारमा यसको माग बढ्दै गएकोले यसको व्यावसायिक उत्पादनको सम्भावना उच्च छ।
४) जलवायु अनुकूलता
कोदो सुख्खा, पाखो तथा भिरालो जमिनमा कम पानीको प्रयोगमा सजिलै हुर्किने बाली हो। यो अर्गानिक रूपमा विषादीविनाको खेती प्रणालीमा समेत उपयुक्त हुन्छ।
५) परम्परा र सामाजिक एकता
कोदो रोपाइँको समयमा गाउँहरूमा सामूहिक श्रमदान, आर्मापर्म, मेला जस्ता परम्परागत अभ्यास गरिन्छ जसले सामाजिक समन्वय र सहयोगलाई मजबुत बनाउँछ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मान्यता
जलवायुमैत्री खेती, स्वास्थ्य लाभ तथा स्थानीय स्रोतमा आधारित कृषि प्रणालीको प्रवर्द्धनका लागि भारतको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२१ मार्चमा २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’ घोषणा गरेको थियो। ७० भन्दा बढी राष्ट्रको समर्थन रहेको उक्त घोषणापछि नेपाल लगायतका मुलुकहरूमा कोदोलाई फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन तथा मिनरलयुक्त पोषणयुक्त खाद्यबालीको रूपमा मान्यता दिइयो।
नेपालमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र अनाज नेपालको पहलमा २०७८ सालदेखि श्रावण १५ लाई ‘कोदो दिवस’ को रूपमा मनाउन थालिएको हो।
पछिल्लो समय नेपाल सरकारले कोदो दिवसलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरी यसको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ।
– लेखक राष्ट्रिय कृषक समूह महासंघ नेपालका महासचिव हुन्।








