कोदोको महत्व बुझ्दै गएपछि कोदोको प्रयोगकर्ता बढ्दै
अनिता बस्नेत
नेपालमा कोदो प्रयोगकर्ताहरू बढ्दै गएका छन्, तर यसको खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको देखिन्छ। पहाडी क्षेत्रका केही भागहरूमा विभिन्न हाइब्रिड जातका कोदो रोप्न थालिएपछि उत्पादन र उत्पादकतामा भने वृद्धि भएको छ।
संयुक्त राष्ट्रसंघको २०२१ मार्चमा सम्पन्न महासभाले भारतको नेतृत्वमा ७० भन्दा बढी देशहरूको समर्थनमा सन् २०२३ लाई ‘कोदो अन्तर्राष्ट्रिय वर्ष’का रूपमा मनाउने निर्णय गरेपछि, नेपाललगायतका सदस्य राष्ट्रहरूले यो वर्ष विशेष रूपमा मनाएका छन्।
नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र कोदो खेती हुने गरेको छ। बाँकी १० लाख ३० हजार हेक्टर (७ प्रतिशत) जमिन खेतीयोग्य भएर पनि बाँझो बसिरहेको छ। जैविक विविधताको अधिकतम उपयोग गर्दै मेहनतका साथ कोदो खेती गरिन्छ, जसबाट ढिँडो, रोटी, पुवा, सुप, सेलरोटी, कोदोको भूसीको चिया, बेकरी परिकारजस्ता खाद्यवस्तुहरू तयार पार्ने चलन छ।
अहिले आन्तरिक र बाह्य पर्यटकहरूले कोदोको परिकार मन पराउन थालेपछि यसको माग र आपूर्ति बढेको छ। पहिले कोदोलाई ‘कुअन्न’ भनेर हेपिए पनि अहिले भने ‘श्रीअन्न’को रूपमा मान्यता दिइएको छ।
कोदो बालीको जैविक विशेषता
कोदो ६० देखि १२२ सेन्टीमिटर अग्लो हुने गर्छ। यसको जरामा रेसादार र स्थायी जरा हुन्छ, डाँठ खदिलो र गोलाकार हुन्छ। पातहरू पंक्तिमा मिलेर आएका हुन्छन्, जसको बिचमा लिगुल नामको झिल्लीदार रेसायुक्त भाग हुन्छ। कोदोको बोटमा फूल फुल्न फूलडाँठले छ देखि आठ दिन लाग्छ। यसको फूलहरू औंलाजस्तो गुबोमा सँगै फुल्ने गर्छन्। यस बालीले सामान्यतः आत्म(परागन गर्छ। एक फूलगुच्छाले तीनदेखि आठवटा दाना बोक्न सक्छ।
कोदोको उत्पादन र आयात
संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको थियो। कृषि विभागका अनुसार नेपालमा कोदो मात्र होइन, कोदोको बीउ पनि निर्यात हुने गरेको छ। हाइब्रिड जातका कोदो प्रायः आयात गरिन्छ भने स्थानीय जातका बीउ निर्यात हुने गरेका छन्।
नेपालका ७७ वटै जिल्लामा कोदो उत्पादनको सम्भावना भए तापनि कर्णाली प्रदेश उत्पादनका हिसाबले सबैभन्दा अगाडि देखिएको छ। सरकारले अनुदान, बजार, प्रविधि, अनुसन्धान, भण्डारण र स्थानीय सरकारमार्फत कोदो प्रवर्द्धनमा जोड दिन सकेमा यसको सम्भावना झनै विस्तार हुन सक्छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको पहलमा सरकारले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा घोषणा गरेको हो।
सिमान्त समुदाय र कोदोको आहार संस्कृति
पहिले कोदो सिमान्तकृत समुदायले मात्र खाने अन्न मानिन्थ्यो। तर अहिले सभ्रान्त समुदायहरूले पनि यसको महत्व बुझेका छन्। प्रोटिन, काब्रोहाइड्रेट, भिटामिन, मिनरल्स जस्ता तत्व पाइने भएकाले कोदो ‘आहार संस्कृति’को रूपमा विकास हुँदै गएको छ।
सब-सहारा अफ्रिकामा लाखौं किसानको मुख्य खाद्यान्न स्रोत कोदो हो। त्यहाँ कोदो खाद्य आपूर्ति, भोकमरी न्यूनीकरण र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्याउने अन्न हो। त्यस्तै नेपालमा पनि कोदोको प्रयोगले सुगर, प्रेसर, कोल्ड जस्ता रोगका बिरामीका लागि लाभदायक भएकोले यसको प्रयोग संस्कृति र स्वास्थ्य दुवै दृष्टिले बढ्दै गएको छ।
कोदोको व्यावसायीकरण
नेपालका पहाडी भू-भागमा कोदोको उत्पादनका लागि अनुकूल वातावरण भए पनि यसको पर्याप्त व्यावसायीकरण हुन सकेको छैन। कोदोको आयात बढ्दो छ, जबकि स्वदेशी उत्पादनलाई बजारमा उचित मूल्य नपाइरहेको अवस्था छ।
कोदो व्यवसायीकरणको लागि वस्तु विविधिकरण, बजार व्यवस्थापन, नीति निर्माण तथा कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक छ। कोदोका परिकार स्वादिलो र स्वास्थ्यवर्द्धक भएकाले यसको माग बढ्दो छ तर उत्पादन त्यति बढ्न सकेको छैन।
महिला किसान र कोदो उत्पादन
पछिल्लो समय पहाडी क्षेत्रका महिला किसान कोदो खेतीतर्फ आकर्षित भइरहेका छन्। उत्पादन सजिलो हुनु, राम्रो मूल्य पाइने, बजारमा माग बढ्नु जस्ता कारणले महिलाहरू यो क्षेत्रमा सक्रिय हुँदै गएका छन्।
पहाडी क्षेत्रका पाखोबारीहरू कोदो खेतीका लागि उपयुक्त मानिन्छन्। सहरमा समेत कोदोका परिकारप्रति आकर्षण बढेका छन्। स्थानीय तहहरूले बजारीकरण र सहयोग कार्यक्रममार्फत कोदो खेतीमा योगदान पु¥याउँदैछन्।
पहिले उत्पादन र व्यवस्थापनका काम पुरुषको वर्चस्वमा भए पनि अहिले महिलाहरूको सहभागिता उल्लेखनीय छ। उत्पादन मात्र नभई बजारिकरणमा समेत महिला किसानको योगदान अतुलनीय छ।
गाउँका महिला कोदो खेतीमा लागेपछि स्थानीय तहहरूले सहुलियत र अनुदान कार्यक्रममार्फत उनीहरूलाई प्रोत्साहन गर्दै आएका छन्।
सरकारको भूमिका र नीति सुधारको खाँचो
नेपालका पहाडी तथा उच्च पहाडी क्षेत्रमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, शेर्पा, तामाङ, राई, लिम्बु समुदायको बसोबास छ, जसको मुख्य आहार कोदो हो। तर, त्यही क्षेत्रहरूमा चामल ढुवानी गर्न ठूलो खर्च लागिरहेको छ।
खाद्य सुरक्षाका दृष्टिले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कोदो बालीको महत्व बुझाउँदै युवा पुस्तालाई पनि कोदोको परिकारतर्फ आकर्षित गर्नुपर्ने देखिन्छ। संघीय संरचनामा तीनै तहका सरकारले कोदो प्रवर्द्धनका लागि स्पष्ट नीति ल्याउन आवश्यक छ। ‘पकेट ब्लक’ बनाएर बीउ, मल, कृषिउपकरण वितरण गरी उत्पादन वृद्धि गर्न सकिन्छ।
नागरिक समाजको भूमिका
कोदोको स्वास्थ्य फाइदा र आर्थिक सम्भावनाका विषयमा जनचेतना फैलाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ।कोदोको खेती सुधार, आधुनिक प्रविधिको प्रयोग, प्रसोधन, उद्यमशीलता र कोदो शिक्षालाई प्राथमिकता दिँदै स्थानीय सरकार र नागरिक समाजबिच सहकार्य गर्नु आवश्यक देखिन्छ।
लेखक बस्नेत राष्ट्रिय कृषक समूह महासंघ नेपालकी उपाध्यक्ष हुन् ।








