१९ मंसिर २०८२, शुक्रबार
पश्चिम नेपालमा अष्टिम्कीको रौनक

अष्टिम्की : थारु महिलाको आस्था र संस्कृति झल्काउने महान पर्व

प्रकाशित मिति :  16 August, 2025 12:23 pm


दाङ । दाङसहित पश्चिम नेपालका थारु गाउँमा अष्टिम्कीको रौनक छ। रातभरि गाइने गीत, भित्ताभरि कोरिएका चित्र र बलिरहेको दियोको उज्यालोमा थारु महिलाहरुको श्रद्धा र सौन्दर्य एकसाथ झल्किरहेको छ ।

वर्षमा एक पटक आउने यो पर्व, थारु समुदायका महिलाहरुका लागि धार्मिक मात्र होइन, सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने अवसर हो ।

अष्टिम्की, नाममै अष्टमी शब्दसँग जोडिएको यो पर्व, श्रीकृष्ण जन्माष्टमीसँग सम्बन्धित छ। संस्कृतविद्हरुले ‘अष्टिम्की’ शब्दको मूल ‘अष्टमीं टीका’ बाट भएको बताउँछन् ।

थारु भाषामा श्रीकृष्णलाई ‘कान्हा’ भनिन्छ। त्यसैले भाद्र महिनाको कृष्ण अष्टमी तिथिमा कान्हाको जन्मदिनलाई महिलाहरुले टिका लगाएर विशेष रुपमा पूज्ने चलन नै अष्टिम्की हो ।

व्रत र चित्रकलाको परम्परा

अष्टिम्कीको सुरुवात व्रतसँग हुन्छ । महिलाहरु बिहानैदेखि केही नखाई उपवास बस्छन् । दिनभरि घरलाई सफा गर्ने, विशेष गरी महटावाको (बरघर) बैठक कोठाको उत्तरपट्टि भित्तालाई माटोले लिपपोत गर्ने र चुनले रंग्याउने परम्परा छ । त्यसपछि त्यसै भित्तामा श्रीकृष्णको जीवनीलाई चित्रमार्फत प्रस्तुत गरिन्छ ।

चित्रमा कान्हा बीचमा बस्छन् । उनको दायाँ सूर्य र बाँया चन्द्रमा कोरिन्छ। तलको पंक्तिमा सात कौरव भाइ, अनि अझ तल दुलहा–दुलही, डोली, डोला, गाई, बाघ, सर्प, माछा, चरा, जनावर सबैलाई जीवित कलाको रुपमा उतारिन्छ । यो चित्रणले जीवन, प्रकृति र समाजलाई एकैसाथ बाँधिदिन्छ ।

सामूहिक पूजा र गीतको धुन

बेलुकी झ्याप्प अन्धकार पस्नासाथ महिलाहरु खोलामा स्नान गरेर रातो, कालो चोली, सेतो गुन्यु र रंङ्गीचङ्गी गहना लगाएर सजिन्छन्। बलिरहेको दियो र फूल हातमा लिएर उनीहरु लामबद्ध भएर महटावाको घर पुग्छन्।

पूजाको नेतृत्व महटावाकी पत्नीले गर्छिन् । भित्तामा कोरिएको चित्रमध्येको कान्हालाई पहिलो टिका लगाइन्छ, त्यसपछि क्रमशः अन्य चित्रलाई पनि पूजा गरिन्छ । पूजासँगै सामूहिक गीत गाउने चलन अझै पनि जस्ताको तस्तै छ । गीतको धुन, महिलाको हाँसो र श्रद्धाले वातावरणलाई अलौकिक बनाइदिन्छ । पूजा सकेर फलफुल र दही खाने, अनि फेरि महटावाको घर फर्केर गीत गाउँदै रातभरि जाग्राम बस्ने परम्परा अझै जीवित छ ।

फह्रार र अग्रासन

अष्टिम्कीको दोस्रो दिनलाई ‘फह्रार’ भनिन्छ। बिहानै बलिरहेको दियो खोलामा बगाइन्छ। यसले व्रतको समापन र शुद्धताको प्रतीक मानिन्छ। त्यसपछि घर फर्किएर पाँचदेखि सात थरी तरकारी र मिठा परिकार पकाइन्छ। यी परिकार दाजुभाइको नाममा निकालिन्छन्। यसैलाई थारु भाषामा ‘अग्रासन’ भनिन्छ। विवाहित महिलाहरु आफ्ना दाजुभाइलाई अग्रासन दिन जाने चलन अझै कायम छ।

सांस्कृतिक धरोहर र सामुदायिक एकता

अष्टिम्की दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरदेखि सुर्खेतसम्म थारु महिलाहरुले उल्लासमय वातावरणमा मनाउँछन्। यस पर्वले महिला–पुरुष दुवैलाई आस्थासँगै एकताको सूत्रमा बाँध्ने काम गरेको छ। चित्र, गीत, व्रत र सामूहिक पूजाले थारु समुदायको सांस्कृतिक जीवनशैलीलाई जीवन्त बनाइदिन्छ ।

सांस्कृतिक विश्लेषकहरुका अनुसार अष्टिम्की केवल धार्मिक विश्वास मात्र होइन, थारु महिलाको सिर्जनशीलता, सामूहिकता र जीवनप्रेमको उत्सव पनि हो। भित्तामा बनेका चित्रहरु, सामूहिक स्वरमा गाइने गीत र अग्रासनको परम्पराले यस पर्वलाई पूर्णता दिन्छन्।

अष्टिम्की थारु समुदायका महिलाहरुको श्रद्धा, भक्ति र सांस्कृतिक अभिव्यक्तिको अनुपम मिश्रण हो। भित्तामा कोरिएका चित्रहरु केवल कलात्मक प्रस्तुति मात्र होइनन्, त्यो उनीहरुको जीवनदर्शन, प्रकृतिप्रतिको सम्मान र सामुदायिक एकताको प्रतीक हो । यही कारणले, अष्टिम्कीलाई थारु महिलाहरुले वर्षभरको सबैभन्दा पवित्र र उल्लासपूर्ण पर्वका रूपमा मनाउँछन्।



प्रतिक्रिया दिनुहोस !