सुदूरपश्चिममा सुरु भयो गौरा पर्व : संस्कृतिको चहलपहल र पारिवारिक मिलनको अवसर
काठमाडौँ । सुदूरपश्चिमेलीहरूको मुख्य सांस्कृतिक पर्व गौरा आजदेखि सुरु भएको छ । चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता, पारिवारिक मिलन र सांस्कृतिक सम्पदाको जगेर्नाको पर्वका रूपमा पनि मानिन्छ ।
भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यस वर्ष शुक्ल पक्षमा परेको धार्मिक पण्डितहरूले बताएका छन् । सुदूरका पहाडी क्षेत्रमा गौरा पर्वलाई दसैँभन्दा बढी महत्व दिने परम्परा रहेको छ । छिमेकी भारतको उत्तराखण्डको कुमाउँमा पनि यस पर्वको उल्लास देखिन्छ ।
पौराणिक कथाअनुसार भगवान् शिवलाई प्राप्त गर्न पार्वतीले कठोर तपस्या र निराहार साधना गरेकी थिइन् । त्यसैको सम्झनामा शिव–पार्वतीको विवाह उत्सवका रूपमा गौरा पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ । यसैले विवाहित महिलाले सौभाग्य र परिवारको सुख–शान्तिका लागि व्रत बसी पूजा गर्ने गर्छन् ।
गौरा पर्वको विशेषता भनेकै सामूहिकता र परम्परागत रीतिथिति हो । पहिलो दिन महिलाले घर–घरमा तामा वा पित्तलको भाँडोमा पाँच थरी अन्न (गहुँ, केराउ, गहत, मास र गुरुस) भिजाएर पर्व सुरु गर्छन् । यी अन्नलाई ‘बिरुडा’ भनिन्छ । दोस्रो दिन सामूहिक रूपमा पानीका मुहान र पँधेरामा बिरुडा धोइन्छ । सप्तमीका दिन देवी गौरीलाई डालोमा राखी गाउँका मठ–मन्दिरमा स्थापना गर्ने परम्परा छ ।
गौराष्टमीका दिन महिलाले गौराखलोमा भेला भएर फाग गाउने, पूजा–आराधना गर्ने र दुबधागो चढाउने चलन रहिआएको छ । सोही दिन बिरुडालाई प्रसादका रूपमा ग्रहण गर्ने र परिवारका सदस्यलाई टाउकोमा छर्की आशीर्वाद दिने परम्परा छ ।
धार्मिक अनुष्ठानसँगै गौराको सांस्कृतिक र सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । अठ्यावालीपछि विभिन्न गाउँमा ढुस्को, धमारी, ठाडो खेल र देउडा जस्ता सामूहिक खेल–गान चल्छन् । गाउँघरमा चहलपहल बढ्ने, टाढाटाढा काम–रोजगारीमा गएकाहरू घर फर्किने र सामुदायिक एकताको माहोल सिर्जना हुने हुँदा गौरा पर्वलाई ‘सामाजिक पुनर्मिलनको पर्व’ पनि मानिन्छ ।
यसरी धार्मिक आस्था, सांस्कृतिक अभिव्यक्ति र सामूहिक एकतालाई एकसाथ बोकेर मनाइने गौरा पर्व सुदूरपश्चिमेली समाजको मौलिकता र पहिचानको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ ।








