सन्दर्भ पुस्तकालय दिवस : हराउँदै अध्ययन संस्कृति, मुर्झाउँदै पुस्तकालय
काठमाडौँ । दुई सय वर्षअघि नेपालमा पहिलोपटक औपचारिक पुस्तकालय ‘पुस्तक चिताई तहबिल’ स्थापना भएको इतिहास आज पनि पढ्न पाइन्छ । तर दुःखको कुरा, पुस्ताको पुस्ताले पढ्ने अपेक्षा गरिएको पुस्तकालयहरू आज आफैं अस्तित्व संकटमा छन् ।
आर्थिक अभाव, कानुनी स्पष्टताको कमी र आधुनिक प्रविधिसँग कदम मिलाउन नसक्नु अहिलेका पुस्तकालयको प्रमुख चुनौती बनेका छन् ।
इतिहास र वर्तमानको दूरी
गीर्वाणयुद्ध विक्रमको पालादेखि पुस्तकालयको बीउ नेपालमा रोपिएको हो । तर स्थापना भएका धेरै सामुदायिक तथा शैक्षिक पुस्तकालय समयसँगै मरेका धिपधिपे बत्तीझैँ बुते । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ९२८ सामुदायिक पुस्तकालयमध्ये २२७ मात्रै व्यवस्थित रूपमा सञ्चालनमा छन् ।
पुस्तकालयलाई ‘जनताको विश्वविद्यालय’ भनेर चिनाइन्छ । तर पाठक आउनुपर्ने ठाउँमै ढोका बन्द हुन थालेपछि पठन संस्कृतिमा समेत असर परेको छ ।
विकसित मुलुकले शिक्षा बजेटको करिब १ प्रतिशत पुस्तकालयमा खर्च गर्ने परिपाटी बसाइसकेका छन्, तर नेपालमा यो बजेट नगण्य छ ।
नेपाल पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डे भन्छन्, “कानुनी संरचनाको कमी, जीर्ण पूर्वाधार, अस्थिर आर्थिक स्रोत, दक्ष जनशक्तिको कमी, घट्दो पठन संस्कृतिले पुस्तकालयलाई अस्तित्व संकटमा पुर्याएको छ ।”
संविधानले पुस्तकालय व्यवस्थापनलाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा जिम्मेवारी भनेको छ । तर व्यवहारमा स्थानीय तहले कति अनुदान दिने भन्ने स्पष्टता नभएकाले कतै अनुदान पुग्छ, कतै पुग्दैन ।
पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले भने, “पुस्तकालयलाई अझै तजबिजी ढंगले अनुदान दिइँदा स्थायित्वमा समस्या आइरहेको छ ।”
पाठकसँगको दूरी
नेपालका धेरै पुस्तकालय अझै अस्थायी वा जीर्ण भवनमा सञ्चालन भइरहेका छन् । अध्ययन कक्ष, इन्टरनेट, अपाङ्गतामैत्री सुविधा, बालमैत्री कोठा नहुँदा पाठक आकर्षित हुन सकेका छैनन् । २०७२ को भूकम्पले थप धेरै पुस्तकालयलाई पुनर्निर्माणको पर्खाइमा पारेको छ ।
विश्वका पुस्तकालयहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर पाठकले खोजेको सूचना क्षणभरमै उपलब्ध गराइरहेका छन् । तर नेपालका पुस्तकालय अझै पुस्तकमाथि धुलो जम्ने अवस्थामा छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्मा भन्छन्, “पुस्तकालयलाई आधिकारिक सूचना प्रदायकका रूपमा रूपान्तरण गर्न सकियो भने मात्रै यसको आकर्षण बढ्छ ।”
दिवस मात्र होइन, निरन्तर अभ्यास आवश्यक
विसं २०६५ देखि हरेक भदौ १५ गते ‘पुस्तकालय दिवस’ मनाइन्छ । यस वर्षको आदर्श वाक्य छ-“हाम्रो पुस्तकालय : हाम्रो भविष्य” ।
दुई सातादेखि सरकारी तथा गैरसरकारी स्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । तर यावत् चुनौतीबीच दिवसले ल्याउने चेतना वर्षैपिच्छे हराउँछ, जसका कारण पुस्तकालय सुधारका मुद्दा फेरि अर्को वर्षको दिवसमा मात्र उठ्छन् ।
नेपालका पुस्तकालय अझै सम्भावनाका ढोका बनेर उभिएका छन् । आर्थिक स्रोतको स्थायित्व, आधुनिक प्रविधिको समावेशीकरण, कानुनी संरचना स्पष्टिकरण र स्थानीय तहको जिम्मेवार भूमिकाले मात्रै पुस्तकालयलाई पुनर्जीवित गर्न सक्छ ।
अन्ततः पुस्तकालय केवल किताब राख्ने ठाउँ होइन, लोकतन्त्र र ज्ञानसमाजको मेरुदण्ड हो भन्ने बुझाइमा पुग्दा मात्र “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने आदर्श वाक्य व्यवहारमा रूपान्तरण हुन सक्छ ।








