युवाहरूको आकांक्षा सम्बोधन गर्न एमाले सक्षम छ- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा सम्बोधन गर्ने क्षमता राख्ने दाबी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका बाबजुद एमालेले नै युवाहरूको चाहना पूरा गर्न सक्ने बताएका हुन् ।
उनले भदौ २०, २१ र २२ गते सम्पन्न विधान महाधिवेशनमा समेत युवाहरूको आकांक्षा सम्बोधन गर्नेगरी व्यापक छलफल भएको स्मरण गर्दै एमाले त्यसअनुसार अघि बढ्ने योजनामा रहेको बताए ।
पोखरेलले भने, “युवाहरूले अलि धैर्य गरेका भए एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रूपमा देखिन्थ्यो । तर दुर्भाग्यवश, हामीले ती योजनाहरू व्यवहारमा लागू गर्न पाएनौं ।”
अन्तरिम सरकारको कर्तव्य समयमै निर्वाचन गराउनु र शान्ति–सुरक्षाको वातावरण तयार गर्नु भएको उनको भनाइ थियो । उनले सडक आन्दोलन मात्रबाट स्थायित्व र विकास सम्भव नभएको उल्लेख गर्दै भने, “परिवर्तन संविधानमा संश्लेषण भइसकेको छ । त्यसैले अबको परिवर्तनको आधार संविधान नै हुनुपर्छ ।”
उनले युवाहरूका आकांक्षा समयमै पूरा गर्न नसकेको स्वीकार गरे पनि देशभक्ति, सुशासन, विकास र समृद्धिमाथि प्रश्न गर्नु उचित नहुने जिकिर गरे । पोखरेलले थपे, “हामी फेरि उठ्नेछौं, अझै एकताबद्ध भएर जनताको भावनालाई सम्बोधन गर्ने गरी अघि बढ्नेछौं ।”








