१९ मंसिर २०८२, शुक्रबार

लोकतन्त्रलाई कमजोर पार्न गरिएकाे दल निषेध अस्वीकार्य-महासचिव पोखरेल

प्रकाशित मिति :  19 September, 2025 10:17 am


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदानीपूर्ण भूमिकाबाट आएका राजनीतिक दलहरुलाई निषेध गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक दललाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने जिकिर गरे ।

महासचिव पोखरेलले भने, “लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दल खोल्न मिल्दछ । जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो ।”

उनले संविधानले कुनै पनि दललाई रोक्ने अधिकार नराखेको भन्दै एमाले वा कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति ल्याउने दललाई त्यसको अधिकार खुला रहेको बताए ।

“तर जनताका लागि आफ्ना नीति, योजना र कार्यक्रम अघि बढाइरहेका तथा बलिदान गरेर आएका दलहरुलाई निषेध गर्ने कुरा स्वीकार्य हुँदैन,” पोखरेलले जोड दिए ।

नव युवाहरुको आन्दोलनका नाममा षड्यन्त्रपूर्वक दलहरुलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यसले लोकतन्त्रलाई नै कमजोर पार्ने चेतावनी पनि दिए ।



प्रतिक्रिया दिनुहोस !