१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन माघमै हुने आयोगको तयारी

प्रकाशित मिति :  25 September, 2025 9:55 pm


काठमाडौँ । आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन हुने घोषणा भएपछि राष्ट्रिय सभाको चुनाव माघमै हुने हो कि भन्ने प्रश्न उठेको छ । निर्वाचन आयोगले भने यसबारे अन्यथा सोच्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार माघमै राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने कानुनी बाध्यता छ र त्यसमा कुनै समस्या छैन ।

“समयमै चुनाव गर्नुपर्छ, मतदाता निश्चित छन्, अप्ठ्यारो केही छैन,” उनले बताए । तर, अन्तिम निर्णयका लागि सरकार र राजनीतिक दलहरूको धारणा महत्वपूर्ण हुने उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । आगामी २० फागुनमा २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल सकिँदैछ । तीमध्ये एक जना (वामदेव गौतम) राष्ट्रपति मनोनीत भएकाले बाँकी १८ पदमा निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका एक आयुक्तका अनुसार सातै प्रदेशमा निर्वाचन अधिकृत तोक्ने तयारी छ । “निलम्बनमा परेका वा मृत्यु भएकालाई मतदाता सूचीबाट हटाउने हो, बाँकीमा कुनै अवरोध छैन,” उनले भने ।

राष्ट्रिय सभा स्थायी सदन भएकाले हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ । त्यसकै निरन्तरताका लागि माघमै निर्वाचन गर्ने तयारी आयोगको छ । आयोगले यसअघि नै दलहरूसँग छलफल गर्ने तयारी गरेको छ, जसमा प्रतिनिधि सभा तयारीसँगै राष्ट्रिय सभा निर्वाचनको मिति पनि टुंग्याइनेछ ।

२०७६ साल माघमा भएको चुनावबाट निर्वाचित सदस्यहरूको पदावधि यसै फागुनमा समाप्त हुँदैछ । संविधान र ऐनको व्यवस्थाअनुसार अब माघभित्रै नयाँ निर्वाचन गर्नुपर्ने बाध्यता छ ।



प्रतिक्रिया दिनुहोस !