१२ पुस २०८२, शनिबार
संघर्षकाे कथा

क्रान्तिशिखा धिताल : फ्रम प्रोटेस्ट टु पोलिसी

प्रकाशित मिति :  27 December, 2025 8:27 am


“परिवर्तन पर्खेर बस्ने कुरा होइन, आफै परिवर्तन बन्ने साहस गर्नुपर्छ ।” बराक ओबामाको भनाइ क्रान्तिशिखा धितालको जीवनबीच अद्भुत मेल छ ।

रोल्पा-क्रान्तिको प्रतिबिम्ब ।
त्यही प्रतिबिम्बको केन्द्रमा पर्ने जिनाबाङमा जन्मिएको एउटा बालक, उही क्रान्तिको छायाँ र प्रतिक्रान्तिको आँधीबीच हुर्कियो ।

क्रान्तिको विपरीत विचारको परिवार । दिनहरू बन्दुकको गर्जनसँगै ब्युँझिन्थे, रातहरू त्रास र आशाको द्वन्द्वमा बित्थे ।

गोलीको आवाजसँगै हुर्किएको बालकले शान्तिको अर्थ अरुभन्दा छिटो बुझ्छ । जिनाबाङमा जन्मिनु कुनै सौभाग्यको कथा थिएन, त्यहाँ बाँच्नु र उठ्नु स्वयं एक कठोर संघर्ष थियो । जहाँ हरेक बिहान बन्दुकको आवाजले निद्रा तोड्थ्यो, त्यहीँबाट उनको चेतना ब्युँझिन थाल्यो–प्रश्न गर्न, अस्वीकार गर्न र विकल्प खोज्न ।

त्यसै क्षणदेखि जिनाबाङ केवल जन्मथलो रहेन, त्यो उनको विचारको पाठशाला बन्यो । डरले घेरेको परिवेशले उसलाई मौन हुन सिकाएन–उल्टै, चुप नबस्ने साहस दियो । यही साहसले पछि परिवर्तनलाई प्रतीक्षाको विषय होइन, कर्मको यात्रामा रूपान्तरण गर्यो ।

युद्ध रोजेन परिवारले । क्रान्तिसँग पैँठेजोरी खोजिरह्यो ।
बाआमा दुवै एमाले विचारबाहक हुनुले युद्धको निशानामा थिए हरेक पल । सम्झनाको पोको खोल्छिन् उनी–“हरेक दिन, हरेक रात त्रासमै बित्थे । बाबामम्मी एमालेको सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । उहाँ माओवादीको निशानामा हुनुहुन्थ्यो । शिरानीमा खुकुरी राखेर सुत्थ्यौं हामीहरु ।”

युद्धले उनलाई प्रश्न गर्न सिकायो । खोला, डाँडा र बस्ती जले–तर उनका सपनाहरू जलेनन् । डरले घेरेको गाउँमा उसले साहसको पहिलो पाठ सिकिन्–चुप नबस्न । जिनाबाङको माटोले उसलाई एउटा अटल सत्य सिकायो–अन्यायसँग सम्झौता गर्नु हार हो ।

बाल्यकालमै मृत्यु देखेका आँखाहरूले उसलाई जीवनको पक्षमा उभिन सिकायो । युद्धले धेरै कुरा खोस्यो तर उनीबाट प्रश्न गर्ने अधिकार खोस्न सकेन । बन्दुक बोकेकाहरूभन्दा पनि उनी घाउ बोकेकाहरूको पक्षमा उभिइन् । संघर्ष उनको पेशा बनेन–तर विवश उत्तरदायित्व बन्यो ।

उनी नेता बन्न जन्मिएकी थिइनन्, पीडाले उनलाई अगाडि धकेल्यो । राजनीतिमा उनको प्रवेश सत्ता खोजाइ थिएन–घाउहरूको जवाफ थियो । जिनाबाङले उनलाई कठोर बनायो, तर निर्दयी होइन-जिम्मेवार । जहाँ धेरैले मौनता रोजे, उनले जोखिम रोजिन् ।

युद्धले भत्काएको गाउँबाट उठेको आवाज कहिल्यै कमजोर हुँदैन । जिनाबाङबाट सुरु भएको क्रान्तिशिखाको यो यात्रा केवल एक व्यक्तिको कथा होइन, संघर्षबाट जन्मिएको चेतनाको इतिहास हो । संघर्षको अन्तिम उद्देश्य बदला होइन-रूपान्तरण हो । र यही रूपान्तरणको बाटोबाट उनको राजनीतिक जीवनले आकार लिन थाल्यो ।

-यहाँबाट सुरु हुन्छ क्रान्तिशिखाको जीवनी ।

वि.सं. २०५४ सालमा जन्मिएकी थिइन् क्रान्तिशिखा ।
राजेश धिताल र लीला आचार्यको कान्छो सन्तानका रुपमा जन्मिएकी क्रान्तिशिखाको शिक्षारम्भ वीरेन्द्र मावि नाउली जिनावाङबाट भयो । घोराहीस्थित शान्ति निकेतन विद्यालयबाट प्रवेशीका (एस.एल.सी) उत्तीर्ण गरेकी उनी उच्च शिक्षाका अध्ययनका लागि राजधानी काठमाडौँ प्रवेश गरिन् । उच्च माध्यमिक तहको पठनपाठन गोल्डेन गेटबाट प्रारम्भ गरेकी उनले मनोविज्ञानमा स्नातक अध्ययनले मानवीय मन र पीडाको संरचना बुझिन् ।

पत्रकारितामा डिप्लोमाले सत्य खोज्ने आँखा दियो र शान्ति, द्वन्द्व तथा विकासमा स्नातकोत्तर अध्ययनले समाज परिवर्तनका संरचनागत आयामहरू उजागर गर्यो । यी अध्ययनहरू केवल प्रमाणपत्रमा सीमित रहेनन्, जीवनका निर्णय र व्यवहारमा उतारिए ।

व्यक्तिगत करियर निर्माणको साँघुरो घेराभन्दा माथि उठेर राज्य र समाजमा अर्थपूर्ण हस्तक्षेप गर्ने आकांक्षाले उनको यात्रालाई दिशा दियो । सहज र सुरक्षित बाटो रोज्ने अवसर हुँदाहुँदै पनि उनले नीतिगत, रूपान्तरणकारी र उत्तरदायी भूमिकालाई आफ्नो जीवन–ध्येय बनाइन् । यही विश्वासले उनलाई कहिलेकाहीँ नदेखिने, नसुनिने स्थानबाट पनि मौनतासँग संघर्ष गर्दै निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो ।

रोल्पाको दुर्गम गाउँ जिनाबाङबाट दाङ हुँदै काठमाडौँसम्मको यात्रा केवल दूरीमा सीमित थिएन, त्यो समाजका कठोर यथार्थ र गहिरा विरोधाभाससँगको साक्षात्कार थियो ।

परिवर्तनका नाममा फैलाइने भ्रम, लोकतन्त्रको आवरणभित्र जन्मिने हिंसा र नयाँ–नयाँ अन्यायहरू उनले नजिकबाट देखिन् । अनुभूत गरिन् । ती अनुभवहरू पीडादायी थिए, तर तिनैले उनलाई मौन बस्न होइन, प्रश्न गर्न, अस्वीकार गर्न, चुनौती दिन र वैकल्पिक बाटो खोज्न सिकाए ।

सञ्चार र मनोसामाजिक क्षेत्रमा काम गर्दै उनले धेरै मौनताहरू तोडिन् । दबिएका आवाजलाई बहसको केन्द्रमा ल्याइन् । असहज तर आवश्यक प्रश्नहरू उठाइन् र जनचेतनालाई सशक्त बनाउने निरन्तर प्रयास गरिन् । उनका लागि समाचार शब्दहरूको थुप्रो मात्र थिएन, समाजको प्रतिबिम्ब थियो, सत्यको खोजी थियो र जनअधिकारको संरक्षण पनि थियो ।

नेपालको मूलधारको टेलिभिजन ‘ग्लाक्सी फोर के’ को समाचार कक्षमा समाचार बोल्दै–बोल्दै राजनीतिमा होमिएकी क्रान्तिशिखा प्रारम्भिक चरणदेखि नै केन्द्रमा रहिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय टिममा रहेर उनले पार्टीलाई व्यवस्थित बनाउन संघर्षरत रहिन्, जो आज पनि जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सधैँ नेतृत्वको सहयोगी भूमिकामा देखिने क्रान्तिशिखा बेलाबेला पार्टी सुधारका लागि मिसाल बनेर उभिन्छिन् । पार्टीभित्र पूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाको आवाज उठाउने उनको आवाज विधान संशोधनमार्फत् समेटियो । उही संघर्षको परिणामस्वरूप आज रास्वपाका सबै कमिटी निर्वाचित हुनुपर्ने प्रावधान बनेको छ । पार्टीभित्र मौलाउँदै गएको मनोनित पद्दति पूर्ण रूपमा खारेज भएको छ ।

व्यक्तिगत स्वार्थ वा क्षणिक लोकप्रियतामा नलाग्ने उनी हरहमेसा पार्टीभित्रै काम गरिरहिन् । उनको राजनीतिक अभ्यास सधैँ न्याय, समानता र स्थायी परिवर्तनको पक्षमा केन्द्रित रह्यो, जो आज पनि छ । लोकप्रियताको आवाजबाट टाढा रहेर नीतिगत स्पष्टता र विधिसम्मत रूपान्तरणको पक्षमा उभिनु नै उनको संघर्षको मूल चरित्र बनेको छ ।

उनको वैचारिक मार्गदर्शक प्रश्न सधैँ एउटै रह्यो–“देश कता जानुपर्छ ?” यही प्रश्नको उत्तर खोज्ने क्रममा उनले विशेषगरी मानसिक स्वास्थ्यको विषयलाई अगाडि सारिन् । यसलाई उनले व्यक्तिगत कमजोरीको मुद्दा होइन, राज्यको जिम्मेवारी र राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गर्न निरन्तर आवाज उठाइन् । उनको दृढ विश्वास छ–स्वस्थ नागरिक बिना समृद्ध लोकतन्त्रको कल्पना सम्भव छैन ।

पार्टीभित्र उनी नीतिगत दिशानिर्देश तय गर्ने प्रक्रियामा सक्रिय छिन् । प्रस्तावना र व्याख्या लेखनदेखि विधान संशोधनसम्म निर्णायक बहस र निर्णयहरूमा उनको प्रत्यक्ष भूमिका रहँदै आएको छ । यी प्रक्रियाले उनलाई वैचारिक स्पष्टता मात्र होइन, विधिसम्मत परिवर्तन सम्भव हुन्छ भन्ने आत्मविश्वास पनि दिएको छ । पार्टीभित्रको यो संघर्ष व्यक्तिगतको होइन–प्रणाली सुधारको संघर्ष हो ।

पार्टी सभापति रवि लामिछानेको प्रशिक्षण र सहयोगले उनलाई सञ्चार कक्षसँगै राजनीतिमा पनि अब्बल बनाएको छ । सभापतिको मार्गदर्शनले आफूलाई वास्तविक अर्थ बुझ्न सिकाएको उनी बताउँछिन् ।

“रवि सरसँग मैले सञ्चार कक्षमा समाचारसँगै जीवनको यथार्थता पनि सिकेँ । उहाँले दिएको शिक्षा मेरो जीवनभरको मार्गदर्शन बनेको छ । सत्यको खोजी हो र जनताको अधिकारको संरक्षणमा जीवनलाई प्रयोग गर्ने संकल्प लिएकी छु,” स्तम्भकासँगको वार्ताको क्रममा गम्भीर हुँदै बोल्छिन् उनी । यही मूल्यबोध उनको राजनीतिक यात्रा र समाज सुधारको अभ्यासमा सफलताको अस्त्र सावित भएको छ ।

नेतृत्वको सहयोगी बन्दा कैयौँ पटक तितोपन भोगेको अनुभव उनीसँग छ । सबै अनुभवहरूलाई सिकाइको पाठशालाको रूपमा लिएर यात्रारत क्रान्तिशिखा अझ दृढ, जिम्मेवार र सचेत बन्दै गन्तव्य चुन्ने यात्रामा लागिरहेकी छिन् । उनी भन्छिन्–“मैले गहिरो रूपमा समाज र राजनीति बुझेकी छु । परिवर्तन भाषण वा घोषणाबाट होइन, निरन्तर प्रतिबद्धता र जनविश्वासबाट सम्भव हुन्छ ।”

यही विश्वास र अनुभवको आधारमा उनी आज राजनीतिका मूल प्रवाहबाट जीवन अगाडि बढाइरहेकी छिन् । उनको उद्देश्य स्पष्ट छ–पार्टीभित्र (राष्ट्रिय स्वतन्त्र पार्टीभित्र) रहेर नीति, सोच र अभ्यासमा परिवर्तन ल्याउने, ताकि उनको आवाज र कामले देशमा दीर्घकालीन, न्यायपूर्ण र समावेशी रूपान्तरणको आधार तयार गर्न सकोस् ।

उनी भन्छिन्–“जेनेजी आन्दोलनका क्रममा सडकमा उभिँदा मैले युवाहरूको आक्रोश, निराशा र असन्तोष प्रत्यक्ष देखेँ । तर त्यही अनुभवले मलाई एउटा गहिरो निष्कर्षमा पुर्याएको छ–असन्तोष आफैमा पर्याप्त हुँदैन । विधि, लोकतान्त्रिक मूल्य र संस्थागत सुधारप्रतिको दृढ प्रतिबद्धता बिना कुनै आन्दोलन दीर्घकालीन र सार्थक हुन सक्दैन ।”

जेनेजी आन्दोलन उनका लागि कुनै बाहिरी राजनीतिक घटना थिएन, त्यो उनी आफैले भोगेको समय थियो । सडकमा उभिँदा उनले नाराभन्दा गहिरो कुरा देखिन्–युवाको आँखामा जम्मा भएको आक्रोश, निराशा र राज्यप्रतिको मौन प्रश्न । त्यो आक्रोश क्षणिक थिएन, न त केवल भावनात्मक विस्फोट, त्यो दीर्घ बेवास्ता र असफल संरचनाप्रतिको सामूहिक अस्वीकार थियो । तर त्यही अनुभवले उनलाई एउटा स्पष्ट निष्कर्षमा पुर्यायो-असन्तोष आफैमा परिवर्तन होइन, परिवर्तनतर्फको संकेत मात्र हो ।

क्रान्तिशिखाको दृष्टिमा आन्दोलनको सार सडकमा होइन, त्यसपछि यात्रामा निहित हुन्छ । आन्दोलन सफल तब हुन्छ, जब त्यसले आफ्नो भाषा बदल्छ-नाराबाट नीति, भावनाबाट संरचना, आक्रोशबाट जिम्मेवारीतर्फ । उनी भन्छिन्-“जेनेजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि आवाज उठाउनु होइन, त्यो आवाजलाई विधि, लोकतान्त्रिक मूल्य र संस्थागत प्रक्रियामा रूपान्तरण गर्न सक्नु हो ।”

उनका लागि सरकारभित्र पस्नु आन्दोलनको विस्मरण होइन, त्यसको निरन्तरता हो । सडकले देखाएको समस्यालाई नीति–भाषामा उतार्नु, मागलाई प्रस्तावमा बदल्नु र असन्तोषलाई कार्यसूची बनाउनु-यहीबाट आन्दोलन दीर्घायु बन्छ । युवाले उठाएका प्रश्नहरू विधेयक, नियमावली र कार्यविधिमा लेखिएपछि मात्र सुरक्षित हुन्छन् । नत्र, आन्दोलन इतिहास बन्छ, नीति बनेपछि मात्र परिवर्तन बन्छ ।

क्रान्तिशिखाले जेनेजी आन्दोलनलाई भावनात्मक उभारबाट संस्थागत चेतनातर्फ लैजानुपर्ने आवश्यकता देख्छिन् । त्यसका लागि सरकारभित्र सुनुवाइको संरचना चाहिन्छ-जहाँ युवा आवाज केवल सुनिने होइन, नीति बनाउँदा समावेश गरिन्छ । बजेट, कार्यक्रम र कार्यान्वयनसँग नजोडिएको नीति उनको नजरमा अधुरो हुन्छ । उनी भन्छिन्, “नीति तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसले नागरिकको जीवनमा देखिने परिणाम दिन्छ ।”

आन्दोलनकारी नेता बन्नु अन्तिम लक्ष्य होइन । आन्दोलनले नीति बुझ्ने, कानून लेख्न सक्ने र प्रणाली सुधार गर्न सक्षम युवा तयार पार्नुपर्छ । सडकको साहसलाई संसदको भाषा र मन्त्रालयको प्रक्रियासँग जोड्न सक्ने पुस्ता निर्माण नै जेनेजी आन्दोलनको वास्तविक उपलब्धि हुने उनको विचार छ ।

क्रान्तिशिखाका लागि आन्दोलन र सरकार दुई फरक ध्रुव होइनन् । आन्दोलनले दिशा देखाउँछ, सरकारले त्यसलाई संरचना दिन्छ । यदि सडकको आवाज कानूनमा लेखिँदैन, बजेटमा देखिँदैन र संस्थामा बस्दैन भने त्यो आवाज क्रमशः हराउँछ । तर यदि त्यो आवाज नीति बन्छ भने, सरकार बदलिँदा पनि उपलब्धि बाँच्छ ।

उनको निष्कर्ष सरल तर गहिरो छ–जेनेजी आन्दोलनको सार असन्तोष होइन, रूपान्तरण हो । रूपान्तरण तब सम्भव हुन्छ, जब साहस सडकबाट सरकारसम्म यात्रा गर्छ र भावना जिम्मेवारीमा रूपान्तरित हुन्छ ।

राजनीति परिवर्तनका लागि अपरिहार्य तत्व ठान्ने क्रान्तिशिखा उही यात्राको निरन्तरताका रूपमा लुम्बिनी प्रदेशको भूगोलबाट खस–आर्य महिला कोटातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संघीय संसदका लागि सिफारिस भएकी छिन्, जो उनको व्यक्तिगत उपलब्धि मात्र होइन–जेनेजी चेतना, नीतिगत अभ्यास र संस्थागत रूपान्तरणको मान्यता हो । यो सिफारिसले सडकबाट उठेको आवाज संसदसम्म पुग्न सक्छ भन्ने भरोसा पुनःस्थापित गरेको छ ।

लुम्बिनीको सामाजिक–भौगोलिक विविधता र रोल्पाको दुर्गम स्थान जिनाबाङले दिएको संघर्ष–चेतनालाई साथ लिएर संसदमा प्रवेश गर्नु भनेको प्रतिनिधित्वलाई अर्थ दिनु हो–महिलाको आवाज, युवाको प्रश्न र नागरिकको अधिकारलाई नीति–भाषामा रूपान्तरण गर्ने जिम्मेवारी स्वीकार गर्नु हो । यो अवसरले समानता, मानसिक स्वास्थ्य, समावेशी विकास र विधिसम्मत सुधारका एजेन्डालाई विधेयक, नियमावली र बजेटसम्म पुर्याउने ढोका खोलेको छ । यस ऐतिहासिक सिफारिसका लागि हार्दिक बधाई तथा शुभकामना ।



प्रतिक्रिया दिनुहोस !