रेवतीरमण शर्मा घिमिरे : पदभन्दा मूल्य र प्रचारभन्दा कर्म रोज्ने नेता
दाङ । राजनीतिमा चर्को नाराभन्दा शान्त कर्म बोल्ने नेताहरू कमै देखिन्छन् । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा घिमिरे त्यही कमै देखिने वर्गका नेता हुन्, जसले पद, हैसियत र अवसरलाई होइन-निष्ठा, अनुशासन र जिम्मेवारीलाई प्राथमिकता दिन्छन् ।
राजनीतिमा धेरैले शक्ति केन्द्रतिर दौडिरहँदा घिमिरे भने संगठनको आधार तहमा टिकिरहन रुचाउँछन् । उनको जीवनशैलीले नै उनको राजनीति परिभाषित गर्छ-सरल, सन्तुलित र अहंकारविहीन । यही कारण उनलाई नजिकबाट चिन्नेहरू ‘नेतृत्वभन्दा भरोसा’ को रूपमा बुझ्छन् ।
सुरक्षित शैक्षिक पेशा त्यागेर कम्युनिस्ट आन्दोलन रोज्नु उनको जीवनको जोखिमपूर्ण तर ऐतिहासिक निर्णय थियो । त्यो निर्णय सुविधा खोज्नेहरूको बाटो थिएन, बरु विचार र प्रतिबद्धताको कठिन यात्रा थियो । त्यही यात्राले उहाँलाई आजसम्म पनि लोभ, लालच र सत्तामुखी राजनीतिबाट टाढा राखेको देखिन्छ ।
पार्टी संगठनमा उनको भूमिका ‘देखिनेभन्दा असरदार’ छ । संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र नीति कार्यान्वयनमा उनले अपनाउने कार्यशैली मौन तर परिणाममुखी देखिन्छ । प्रचारको केन्द्रमा नदेखिए पनि गाउँ–बस्ती र दुर्गम क्षेत्रका कार्यकर्ताबीच उनको नाम भरोसाको रूपमा लिइन्छ ।
प्रदेश सभा सदस्यका रूपमा उनले विकासलाई भौतिक संरचनामा मात्र सीमित गर्नुभएन । शिक्षा, सामाजिक न्याय, समावेशिता र दीर्घकालीन समृद्धिलाई एकैसाथ जोडेर नीति बहसमा ल्याउनु उनको राजनीतिक परिपक्वताको उदाहरण मानिन्छ । यही सन्तुलनले उनलाई ‘व्यवस्थापक होइन, दृष्टिकोण बोकेको नेता’ बनाएको छ ।
अहिले केन्द्रीय लेखा आयोगको जिम्मेवारीमा रहँदा घिमिरेले वित्तीय अनुशासन र पारदर्शितालाई संगठन सुदृढीकरणको मेरुदण्ड ठानेका छन् । पार्टी बलियो हुन आन्तरिक सुशासन अनिवार्य हुन्छ भन्ने उनको विश्वास व्यवहारमै देखिन्छ ।
राजनीतिमा चमकभन्दा चरित्र टिकाउ हुन्छ भन्ने उदाहरण बनेका रेवतीरमण शर्मा घिमिरे आज एमालेभित्र अनुभवी, विश्वासिलो र सन्तुलित नेतृत्वका रूपमा स्थापित छन् । त्यसैले ११ औँ राष्ट्रिय महाधिवेशनमा उहाँलाई केन्द्रीय नेतृत्वमा थप जिम्मेवारी दिनुपर्ने आवाज स्वाभाविक रूपमा बलियो बन्दै गएको देखिन्छ ।








